राजनीतिमा जस्तै खेलकुदमा पनि बेथिति - खेलकुद मन्त्री पौडेल



४ कार्तिक, सुरुङ्गा।
नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले नेपाली राजनीतिमा जस्तै खेलकुद क्षेत्रमा पनि बेथिति रहेको बताएका छन् । मन्त्री पौडेलले सुरुङ्गा जेसिजद्वारा आयोजित सुरुङ्गा गोल्ड कपको समापन समारोहमा सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।
मन्त्री पौडेलले नेपाल बेथितिबाट गुज्रिरहेको र हरेक क्षेत्र संक्रमणको मारमा परेको बताए । उनले राष्ट्रिय खेलकुद नीतिलाई समय सापेक्ष रुपमा परिवर्तन गर्न गृहकार्य भइरहेकाले खेलसँग सम्बद्ध सबैबाट सुझाव मागे । संविधान निर्माणका सम्बन्धमा बोल्दै मन्त्री पौडेलले माघ ८ भित्रमा संविधान जारी गर्न सरकार र संविधानसभा तयार भए पनि बाधा सृजना गर्न कोशिस भइरहेको बताए । अब बन्ने संविधान समयमै जारी गर्न जनताको तर्फबाट खबरदारी र दबाव आवश्यक रहेको उनको भनाई थियो ।


विकास मैत्री, युवा मैत्री र खेलकुद मैत्री संविधान आउनेमा उनले विश्वास समेत दिलाए । मन्त्री पौडेलले नेपाल सरकारले खेलाडीहरुको जीविकोपार्जनका लागि योजना बनाइरहेको र झापालगायत देशका ८ वटा स्थानमा आवश्यक पूर्वाधारसहित स्पोर्ट्स् सेन्टर निर्माण गर्ने तयारी भइ रहेको जानकारी दिए । कार्यक्रममा मन्त्री पौडेलले सुरुङ्गामा स्पोर्ट्स् एकाडेमी निर्माणका लागि नेपाल सरकारले सकारात्मक सोच बनाएको बताए ।
कार्यक्रममा सुरुङ्गा जेसिजका मानार्थ सदस्य आशा शर्मा शिवाकोटी, नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष विष्णु बराल, युवा नेता विश्वप्रकाश शर्मा, झापाका प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल, पूर्वाञ्चल प्रहरी प्रमुख नवराज सिलवाल, झापा क्षेत्र नम्बर ४ का सभासद् प्रेम गिरी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम सुरुङ्गा जेसिजका अध्यक्ष शिव कँडेलको अध्यक्षतामा भएको थियो ।


Comments