इडिभि फर्म भर्न विद्यार्थीदेखि हजुरआमासम्मको ताँती




तेज बन विश्वासी,
२६ असोज, सुनसरी ।
सुन्दै सबैको जिब्रो पड्किन्छ, झन् कसलाई पो मन नहोला र अमेरीका जान र बस्न ।
मुलुक यतिबेला राजनीतिक संकटले घेरिएको छ, त्यसमा पनि बेरोजगार युवायुवतीहरुको संख्या पनि दिन प्रतिदिन बढ्दै गएको पाइन्छ ।
यतिवेला विद्यार्थीदेखि घरका हजुरआमाहरु सम्मका पिढीको नजर सोझै अमेरिकातर्फ परेको छ । यसको गतिलो माध्यम बनेको छ इडिभि चिठ्ठा । अमेरिका जाने सजिलो माध्यम बनेको इडिभि चिठ्ठाको फर्म भर्नेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको पाइएको छ । पूर्वका प्रायः सवै शहर बजारहरूमा सञ्चालित कम्युनिकेसन, कम्प्युटर इन्स्टिच्युट, साइवर तथा फोटो स्टुडियोहरु समेतमा यतिवेला इडिभी फर्म भर्नेहरुको जमात बढ्दै गएको पाइएको हो ।


पूर्वका धरान, इटहरी, बेलबारी, दमक, बिर्तामोड हुँदै पहाडी भेगसम्म पनि इडिभिको फर्म भर्नेहरुको जमात बढेको सजिलै देख्न सकिन्छ ।
सुनसरीको इटहरीकी २७ वर्षीया गृहणी कमला दहाल घरको कामकाज छाडेर इटहरीकै एक कम्प्युटर इन्स्टिच्युटमा इडिभीको फर्म भर्न पुगेकी थिइन् ।
गत वर्षपनि इडिभि भरेको तर आफ्नो नाम ननिस्किएकोले फेरी यो पटक पनि भर्न आएको उनले बताइन् ।
इडिभीको फर्म भर्न उनीमात्र हैन सरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, लगायत केही हजुरआमा उमेरका पनि भेटिएका छन्।
त्यस्तै बिगतका वर्षभन्दा यो वर्ष इडिभिको फर्म भर्नेहरुको संख्या उल्लेखनीय रुपमा बढेको इटहरीस्थित नेटभिजन टेक्नोलोजी एन्ड साइबर क्याफेका सञ्चालक मिन राना मगरले बताए । शनिवार र आइतवार मात्रै १६ सयले आफ्नो पसलबाट इडिभिको फर्म भरिसकेको मगरले बताए ।
सामान्य लेखापढीदेखि लिएर डिग्रीसम्म अध्ययन गरेकाहरु लगायत जो कोहीलाई पनि इडिभि परेमा सजिलै अमेरीका गएर उतैको नागरीक बन्न पाउने हुँदा पनि इडिभिप्रति आकर्षण बढ्दै गएको अर्का साइवर बयवसायी तरहराका मदन बस्नेतले बताए ।

क्याप्सन - इटहरीको एक कम्प्युटर इन्स्टिच्युटमा इडिभिको फर्म भर्नमा ब्यस्त रहेका युवाहरु ।
तस्वीर - तेज बन विश्वासी




Comments