भुटानी र अफ्रिकी टोलीबीच दमक गोल्डकपको फाइनलमा भिडन्त हुने





३० असोज, दमक।
अफ्रिकन यूनाइटेड क्लब र फेन्स क्लब भुटान दमकमा जारी अन्तराष्ट्रिय आमन्त्रण दोश्रो दमक गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगिताअन्तर्गत विहीवार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा सशस्त्र प्रहरी झापालाई टाइब्रेकरमा एकका विरुद्ध चार गोलले पराजित गर्दै अफ्रिकनले फाइनलको यात्रा तय गरेको हो । निक्कै प्रतिस्पर्धात्मक भएको खेलमा दुवै टोलीले गोल गर्ने दर्जनौं मौका खेर फालेका थिए ।




पहिलो हाफको अन्त्यतिर सशस्त्रका निसान राईले डि बक्स नजिकैबाट गरेको प्रहार वारमा लागेर फर्किएको थियो । पहिलो हाफमा गोलका केही मौका सदुपयोग गर्न नसकेको अफ्रिकनले दोश्रो हाफमा पनि सोही गल्तीलाई दोहोर्‍यायो । दोश्रो हाफको दशौं मिनेटमा अफ्रिकनका एल्विस वान भर्सेस वानमा गोल गर्न चुके । त्यस लगत्तै पाएको फ्रिकिकमा सिकोको प्रहार पनि वारमा लागेर फर्कियो ।
खेल अवधिभर अफ्रिकन यूनाइटेडका लागि सशस्त्रका गोलकिपर सन्दिप प्रधान वाधक बनेका थिए । उनले अफ्रिकन यूनाइटेडका एक दर्जनभन्दा बढि प्रहार विफल पारेका थिए र उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिवार हुने आयोजक समितिका सदस्य सन्दिप चापागाईले जानकारी दिए ।



Comments