अब जीव संरक्षणमा पनि फुटबल क्लब मंगलबारे




गोविन्द पोख्रेल, उर्लाबारी ।
मारेर खान घरमा लगिएको एक कछुवालाई उद्दार गरी वेतेनी सिमसार उर्लाबारीमा कछुवा छाडिएको छ । मोरङको उर्लाबारी-७ स्थित बेतेनी सिमासरमा फुटबल क्लब मंगलबारेले सोमबार एक कार्यक्रमको आयोजना गरी लेसिमिस पड्काटा प्रजातिको कछुवा छाडेको हो ।
मधुमल्लाको एक घरमा खान लागिएको सो कछुवालाई क्लबका सल्लाहकार राजु थापामगरले उद्दार गरी ल्याएका थिए । कार्यक्रममा क्लबका व्यवस्थापक भीष्म बुढाथोकीले खेलकुद क्षेत्रमा मात्रै नभएर जीव संरक्षणका लागि समेत क्लब क्रियाशील रहने बताए।






क्लबका सल्लाहकार राजु थापा मगरले कछुवा सिमासारमा छाड्दा संरक्षण हुने बताए । कार्यक्रममा क्लबका प्रवक्ता भुवन लिम्बूले कछुवाका साथै सिमासारमा बसोबास गर्ने सबै जीवजन्तुको संरक्षण गर्न आग्रह गरे। कछुवा सिमासारमा छाडिदिए पनि चोर र तस्करहरुको भय भने यथावत रहने लिम्बूले बताए ।
लेसिमिस प्रजातिको कछुवा विशेष गरी ओसिलो र मलिलो माटोमा बस्ने हात्तीसार क्याम्पस धरानका प्राध्यापक एवं जीवविद् रामचन्द्र अधिकारीले बताए । उनका अनुसार नेपालमा विभिन्न १४ प्रजातिका कछुवा पाइएता पनि उचित संरक्षणको अभावमा तिनीहरू लोप हुने अवस्थामा पुगेका छन् । 'कभडे' जातको कछुवा नेपालमा लोपन्मुख अवस्थामा रहेको उनले जानकारी दिए ।
यसअघिबाट विभिन्न व्यक्ति तथा संघसस्थाहरुबाट सिमसारमा धेरै कछुवाहरु छाडिएको भएपनि तिनीहरूको उचित संरक्षण हुन सकेको छैन । सिमसार संरक्षण र व्यवस्थापनका लागि बनेको समिति क्रियाशील नहुँदा सिमासरमा रहेका विभिन्न प्राणीहरुको चोरी तस्करी हुने गरेको स्थानीय बताँउछन् ।





Comments