पहिचान र अस्तित्वका लागि कोचिला राज्यको माग



२८ असोज, बिर्तामोड।
झापा, मोरङ, सुनसरी जिल्लालाई कोच प्रदेश घोषणाको माग गर्दै आएका कोचिलाका अगुवाहरुले आफ्नो पहिचान र अस्तित्वका लागि उक्त राज्यको माग गरेको बताएका छन् ।
आज मंगलबार झापाको बिर्तामोडमा संवाद समूह सचिवालयको संयोजनमा भएको 'संघीय प्रणालीमा कोच प्रदेश, सहअस्तित्व र पहिचान' विषयक छलफलमा सहभागी कोचिलाका नेताहरुले उक्त माग गरेका हुन् । उनीहरुले इतिहास र भूगोलको आधारमा कोच प्रदेशको व्यवस्था गर्नु पर्नेमा समेत जोड दिए ।



संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति लगायत मुख्य राजनीतिक दलका नेताहरुलाई यसै साता कोच प्रदेश सुनिश्चतताको आधार सहित माग प्रस्तुत गरेर आएका कोचिला नेताहरुले माग पूरा नभए सशक्त आन्दोलन गर्ने समेत बताए । कोचिला संघर्ष समितिका संयोजक त्रिनारायण राजवंशीले संविधान सभामा राज्य पुनर्संरचना विषयमा बहस चलिरहेकाले त्यहाँ कोचका विषयमा कतिको आवाज उठ्छ र हाम्रा माग सम्वोधन हुन्छ भनी आफूहरु प्रतिक्षारत रहेको बताए। त्यहाँ आफ्ना मागलाई सम्बोधन नगरे आन्दोलनमार्फत कोच प्रदेश स्थापना गर्ने संयोजक राजवंशीले दावी गरे। तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष समेत रहेका त्रिनारायणले झापा, मोरङ, सुनसरी कोच भूमि भएकाले भूमिका लागि लड्न आफूहरु संगठित भई अग्रसर भएको बताए।
कोच प्रदेश सुनिश्चतताको मागसहित केही समय अघिमात्र विभिन्न पार्टीका संगठनमा रहेका कोचिला नेताहरु एउटै मोर्चामा आवद्ध भएका छन् ।
कोचका इतिहासकार तथा कोचिला स्वायत्त राज्य परिषदका अध्यक्ष पानीलाल राजवंशीले १२ औं शताब्दीमा यहाँ कोच राज्य भएको प्रंसग उल्लेख गर्दै अग्राधिकार र आत्मनिर्णयको अधिकारसहित कोच प्रदेशको पक्षमा आफूहरु रहेको बताए। कोचिला राष्ट्रिय मुक्ति मोर्चाका नेता हंशलाल राजवंशी सहितका वक्ताले कोच प्रदेशमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र जातीय जनसंख्याको बाहुलियताको आधारमा उपस्वयात्तता प्रदान गरिने बताए। संयुक्त कोचिला संघर्ष समितिका संयोजक लेखराज खवासले यूएन मोडलको आत्मनिर्णयको अधिकारसहितको कोच राज्यको पक्षमा सशक्त संघर्ष गर्ने बताए।



कार्यक्रममा भूमिपुत्र जागरण मञ्चका अध्यक्ष पर्शुराम राजवंशी, कोचिला गाभूर फ्रन्टका संयोजक भरतकुमार राजवंशी, कोचिला संघर्ष समितिका सचिव सन्तोष राजवंशी, राजवंशी समाज विकास समितिका जिल्ला अध्यक्ष पुकार राजवंशी, मेचे सिवियारी आफातका अध्यक्ष रुपेश मेचे, कोचिला नेता देवेन्द्र सोनीलगायतले उत्पीडित जातिहरुको पहिचान र अस्तित्व रक्षाका लागि कोच प्रदेश एक मात्र विकल्प भएको बताएका थिए ।
संवाद सचिवालय संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले सहजीकरण गरेको छलफलमा कोचिला नेताहरुले कोच जाति नभई भूमि भएको र यहाँ बस्ने सबै कोचिला भएकाले कोच प्रदेश प्राप्तिका लागि सबै जातिले सहयोग गर्न आव्हान गरे । उनीहरुले कसैले आफ्नो पहिचान र अस्तित्वको कुरा गरिरहँदा अर्काको पहिचान र अस्तित्वको सम्मान गर्न सक्नु पर्ने बताउँदै कोच प्रदेशमा सबै जाति, भाषी, धर्मिको पहिचान र अस्तित्वलाई उत्तिकै सम्मान गरिने र कोच प्रदेशलाई साझा प्रदेश बनाउने बताए । कोचिला नेताहरुले पहाडी जिल्लामा लिम्वुवानको झैं झापा, मोरङ, सुनसरीमा कोचको पनि आफ्नै इतिहास र पहिचान रहेकोले दुवैले एक अर्काको सम्मान गर्न सक्नु पर्नेमा जोड दिए ।




Comments