ढुवानीमा समस्याले दुर्गममा औषधि अभाव





सचिन भट्टराई,
३० असोज, उदयपुर।
बर्षाका कारण तीन महिनादेखि पहाडी भेगका सडक अवरुद्ध हुँदा दुर्गमका स्वास्थ्य चौकीहरुमा औषधि अभाव भएको छ । गाउँका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुँदा सर्वसाधारण विरामीहरुलाई उपचारमा समस्या परेको छ ।
ढुवानीमा समस्या हुँदा जिल्लाको भुट्टार, जाँते, बाराहालगायत पहाडी भेगका केही स्वास्थ्य संस्थाहरुमा औषधि अभाव भएको छ । 'सरकारले निःशुल्क उपलब्ध गराउने सिटामोल पनि स्वास्थ्य चौकीमा छैन', भुट्टार-५ का सुजित राष्कोटीले भने, 'सामान्य विरामी हुँदासमेत यहाँका सर्वसाधारणहरु मुर्कुची जानुपर्ने अवस्था आएको छ ।'




दुई महिनादेखि जिल्लाको मुर्कुची-भुट्टार सडक अवरुद्ध भएपछि ढुवानी समस्याले स्वास्थ्य चौकीमा औषधी अभाव भएको हो । 'औषधी नहुँदा स्वास्थ्य चौकीले विरामीलाई निःशुल्क औषधी दिन सकेको छैन', भुट्टार-४ का हिरा परियारले भने, 'रुघा खोकी, पखाला, ज्वरो, टाइफाइड र आँखाका रोगीको चाप बढी भएपनि उनीहरु घण्टौं हिडेर औषधी किन्न मुर्कुची बजार जाने गर्छन् ।'
जिल्लाका हरेक स्वास्थ्य केन्द्रहरुमा स्वास्थ्य कार्यालयले 3-3 महिनामा औषधी पठाउने व्यवस्था भएपनि ढुवानी समस्याले पठाउन नसकिएको जिल्ला अस्पताल उदयपुरका प्रमुख डा. चुमनलाल दासले बताए । 'हामीले नियमित रुपमा औषधि पठाइरहेका छौँ', दासले भने, 'केही महिनादेखि भुट्टार स्वास्थ्य चौकीमा औषधी पठाउन सकिएको छैन, अब भरियामार्फत भएपनि अत्यावश्यक औषधीहरु पठाउने तयारी गरेका छौँ ।' भुट्टार स्वास्थ्य चौकीमा दैनिक ३० देखि ४० जनाभन्दा बढिको संख्यामा विरामीहरु उचारको लागि त्यहाँ आउने गरेको भएपनि बिना उपचार घर फर्किने गरेको स्थानीय प्रेम ठकुरीले बताए । स्वास्थ्य चौकीका स्वास्थ्य सहायक परशुराम कापडले स्वास्थ्य चौकीमा औषधी अभाव रहेकाले विरामीहरुलाई सेवा दिन नसकिरहेको बताए ।


Comments