२८ असोज, दमक।
अफ्रिकन यूनाइटेड क्लब झापाको दमकमा जारी दोश्रो अन्तराष्ट्रिय आमन्त्रण दमक गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत मंगलबार भएको पहिलो चरणको अन्तिम खेलमा पूर्व क्षेत्रीय प्रहरी कार्यालय रानीलाई एकका विरुद्ध २ गोलले पराजित गर्दै अफ्रिकन यूनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलको पहिलो हाफ गोलरहित बरावरीमा सकिएको थियो । तर दोश्रो हाफको सुरुवातमै अफ्रिकनले गोलको खाता खोलेको थियो । दोश्रो हाफको तेश्रो मिनेटमा एल्विसले गोल गर्दै अफ्रिकनलाई एक शुन्यको अग्रता दिलाएका थिए । तर दोश्रो हाफको २० औं मिनेटमा प्रहरीले बरावरी गोल गर्यो । निक्कै आक्रामक खेल खेलेको अफ्रिकनले खेल सकिन २ मिनेट छँदा गोल गर्दै दुई एकका अग्रता लिन सफल भएको थियो ।
अफ्रिकाका लागि दोश्रो हाफको ३३ औं मिनेटमा सिल्लाले निर्णायक गोल गरे । खेलको म्यान अफ द म्याच विजेता टोलीका कप्तान भिक्टर घोषित भए । प्रतियोगिताअन्तर्गत बुधवारबाट सेमिफाइनलका खेलहरु सुरु हुँदैछन ।
बुधवार हुने पहिलो सेमिफाइनल खेलमा मेची क्लब झापा र फेन्स क्लब भुटान प्रतिस्पर्धा गर्ने आयोजक समितिका सदस्य सन्दिप चापागाईले जानकारी दिए ।

Comments
Post a Comment