सुरुङ्गा गोल्ड कपको फाइनलमा कञ्चनजंघा सिलिगुढी





१ कार्तिक सुरुङ्गा।
झापाको सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कपको पहिलो सेमिफाइनल खेलमा उर्लाबारी स्पोर्टिङ क्लबलाई आश्चर्यजनक रुपमा पराजित गर्दै भारतको पाहुना टोली कञ्चनजंघा फुटबल क्लब सिलिगुढी फाइनलमा प्रवेश गरेको छ ।
खेलको पहिलो हाफको ३० औं र ३२ औं मिनेटमा कञ्चनजंघा स्पोर्टिङ क्लबका जर्सी नम्बर १२ का खेलाडी निवास राना र जर्सी नम्बर १३ का खेलाडी विदुर क्षेत्रीले गोल गर्दै टिमलाई आश्चर्यजनक ढंगले २-० को अग्रता दिलाए । सोही अग्रता कायम राख्दै कञ्चनजंघा फुटबल क्लबले आफ्नो फाइनल यात्रा तय गरेको हो ।



दोस्रो हाफको अन्तीम १० मिनेट बाँकी रहँदा कञ्चनजंघाका गोल रक्षक राजु सिंहले विपक्षी खेलाडीलाई फल गरेपछि रेफ्री प्रकाश काफ्लेले सोझै गोल रक्षकलाई रातो कार्ड दिएका थिए । उक्त १० मिनेटको समय १० खेलाडीमा सीमित रहेको कञ्चनजंघा फुटबल क्लबबाट फाइदा उठाउन नसक्दा उर्लाबारी स्पोर्टिङ क्लब खेलबाट बाहिरिएको छ भने कञ्चनजंघा स्पोर्टिङ क्लबले कम्तीमा ५१ हजार रूपैयाँ राशीको पुरस्कार सुरक्षित गरेको छ ।

आइतबार हुने अन्तिम सेमिफाइनल खेल एन्फा कप विजेता झापा-११ र विआरसी फेन्स क्लब, भुटानबीच हुने खेल संयोजक देवेन्द्र रिसालले बताए ।
स्थानीय कनकाई उच्च माविको खेल मैदानमा जारी खेलको फाइनल कार्तिक ४ गते हुने सुरुङ्गा जेसीजका कार्यकारिणी उपाध्यक्ष भीम भट्टराईले जानकारी दिए ।




Comments