पूर्वका दुई डिएसपी साधना देवी प्रहरी पराक्रम पुरस्कारबाट सम्मानित



नरेन्द्र बस्नेत,
३१ असोज, मोरङ।
कर्तव्य पालानको क्रममा पूर्व क्षेत्रको आपराधिक, सामाजिक तथा प्रहरीको आन्तरिक सुद्धिकरण लगायतको बिषयमा काम गर्ने उत्कृष्ट दुई प्रहरीलाई नेपालमै पहिलोपटक स्थापना गरिएको ठुलो राशिको साधना देवी प्रहरी पराक्रम पुरस्कारबाट सम्मान गरिएको छ ।

सम्मानित हुने उत्कृष्ट दुई प्रहरी अधिकृतमा इलाका प्रहरी कार्यालय इटहरी सुनसरीका डिएसपी बिनोद शर्मा र इलाका प्रहरी कार्यालय दमकका डिएसपी रविकुमार पौडेल रहेका छन् । उनीहरुलाई साधना देवी प्रहरी पराक्रम पुरस्कार २०७१ बाट ५० हजार रूपैयाँ नगदसहित कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक अन्नपूर्ण दासले सम्मान गरेका थिए । ५९ औं प्रहरी दिवसको अवसरमा क्षेत्रीय प्रहरी कार्यालय बिराटनगर रानीमा आयोजना गरेक कार्यक्रममा अमर प्रहरीले दिएको योगदानको कदर गर्दै बिभिन्न कार्याक्रम आयोजना गरिएको थियो भने पूर्व क्षेत्रमा कार्यरत बिभिन्न प्रहरी अधिकृत तथा जवानहरुलाई सम्मान समेत गरिएको थियो ।




यस्तै पूर्व क्षेत्रका बिभिन्न स्थानमा प्रहरी कार्यालयलाई निःशुल्क रुपमा जग्गा उपलब्ध गराउने मोरङको कोशीहरैचा बस्ने चन्द्र बहादुर घिमिरे र पाँचथरका भानु मगरलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।


कार्यक्रममा शान्ति दुतका रुपमा प्रहरीलाई सचेतना कार्यक्रममा सहयोग गर्ने ४ जना युवा र विभिन्न खेलका खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो । यस्तै कर्तव्य पालनाको क्रममा पूर्व क्षेत्रबाट सहादत प्राप्त गर्ने १५३ जना अमर प्रहरीका परिवारजनलाई राहत प्रदान गरिएको थियो ।
यस्तै पूर्व क्षेत्रका प्रहरी जवान तथा प्रहरी अधिकृतको मनोवल उच्च र सहि कामको प्रशंसा गर्ने उद्देश्यले स्थापना भएको साधना देवी प्रहरी पराक्रम पुरस्कार दिने दाता विपी कोइराला स्वास्थ्य प्रतिष्ठानका शिक्षाध्यक्ष डा. विक्रम श्रेष्ठलाई समेत कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय प्रशासक र क्षेत्रीय प्रहरी प्रमुखद्वारा संयुक्त रुपमा सम्मान तथा कदरपत्रसहित सम्मान गरिएको थियो ।
पुरस्कार पहिलो शुरुवातको रुपमा इटहरी र दमकका डिएसपीलाई उत्कृष्ट प्रहरीले सम्मान गरिएको थियो । डा. विक्ररम श्रेष्ठले आफ्नी दिवंगत आमाको नाममा प्रहरीको हौशला बढाउन पूर्व क्षेत्रीय प्रहरी प्रमुखको रोहबरमा ५० हजार रूपैयाँ नगदसहित नेपालमा नै पहिलो पटक यस्तो पुरस्कार स्थापना गरेका हुन् ।


कार्यक्रममा क्षेत्रीय प्रशासक दास, मोरङका प्रमुख जिल्ला अधिकारी गशेशराज कार्की, जिल्ला न्यायाधिश शेखर प्रसाद पौडेल, पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआइजी नवराज सिलवाललगायतले बोलेका थिए ।

यसैबीच नेपाल प्रहरीले आजदेखि नै आफ्नो पोसाक परिवर्तन गरेको छ । ५९ औं प्रहरी दिवसको अवसर पारेर जनपद प्रहरीमा चुस्ता (कम्ब्याट ड्रेस ) विस्थापन गरी निलो रङको नयाँ पोसाक लागु गर्न लागिएको हो । अहिलेको कम्ब्याट ड्रेस नागरिक मैत्री नभएको र सशस्त्र प्रहरीसग मिल्दोजुल्दो भएको भन्दै प्रहरी प्रधान कार्यालयले पोसाक परिवर्तन गरेको हो ।






Comments