झिलझिलेमा रातभरी हाँस्दै नाच्दै





अनिल यादव,
५ असोज, झिलझिले।
'यतिवेला अरुतिर कार्यक्रम सकिन लागेको हुन्थ्यो', मंगलवार रातको ८ वजे झिलझिले मा.वि. को प्राङ्गणमा बनाइएको स्टेजमा उभिएर चर्चित हास्य कलाकार जितु नेपाल 'मुन्द्रे' भन्दै थिए, 'तर यहाँ त भर्खर शुरु हुँदै रहेछ । '

कार्यक्रमको मध्यान्तरतिर स्टेजमा देखिएका मुन्द्रेले तिहारमा देउसी खेल्ने स्टायल र आजभोली यूवतीहरुले लगाउने छोटो पहिरनदेखि लिएर नेपाली चलचित्र र गीतसंगीतमा देखिएका विकृतिहरुप्रति तिखो व्यंग्य गर्दा सयौं दर्शकहरु पेट मिचीमिची हाँस्न बाध्य बनेका थिए ।





झिलझिलेमा निर्माणधिन अवस्थामा रहेको किरात सामुदायिक भवनलाई सहयोग पुर्‍याउने उद्देश्यले किरात राई योयाक्खा प्रारम्भिक कार्यसमिति सतासीधामले आयोजना गरेको वृहत सांगीतिक साँझमा मुन्द्रेले मात्र नभएर झण्डै आधा दर्जन राष्ट्रिय कलाकार तथा ब्याण्डहरुले प्रस्तुती दिए ।
'मुन्द्रे' सँगै हँसाउनका लागि हास्य कलाकार आर.पि. भट्टराई पनि कार्यक्रममा आएका थिए । उनले आफ्नो शरीरलाई आफैं 'हात्ती' जस्तो भन्दै दर्शकलाई हँसाइरहेका थिए ।



हाँसिरहेका दर्शकलाई अब नचाउने पालो थियो । नचाउनका लागी चर्चित गायक शिव परियार कार्यक्रम स्थलतर्फ आइपुगेका थिए । अब कसलाई बोलाउँ भनेर कार्यक्रमका संचालकद्धय दिनेश गजमेर र भद्रदुमी राईले तातिरहेको माहोललाई सोध्दै गर्दा दर्शकहरु एकै स्वरमा भन्दै थिए - 'शिव परियार' । तर त्यो पखाईको घडी रातको ११ बजेपछि मात्र पुरा भयो ।
शिव स्टेजमा देखिनासाथ एकाएक माहोल तातिन थाल्यो । 'सुन्छु तिमीले मलाई' बाट गीत गाउन शुरु गरेका शिवले 'क्या दामी भो' सम्म आइपुग्दा त चिसो माहोल पुरै तातिसकेको थियो । बसिरहेका दर्शक पनि नाच्न थालिसकेका थिए । खाली रहेको स्टेज अगाडीको भागमै आएर नाच्न शिवले आफ्ना फ्यानहरुलाई आग्रह गरेपछि दर्शकले नकार्न सकेनन् । शिवले आधादर्जन गीत गाउँदा उनीहरुले उफ्रीउफ्री नाचे ।
त्यसो त कार्यक्रममा आफ्नो प्रस्तुती दिन आएकी गायिका मेलिना राईले पनि दर्शकलाई हात हल्लाई हल्लाई नचाइन् । उनले आफ्नो नयाँ एल्बम 'बहार' बाट पनि गीत गाएकी थिइन् ।



त्यस्तै झापाली गायक बादल लिम्बुको सांगीतिक प्रस्तुतीको क्रममा पनि दर्शकको जोडदार ताली सुनिएको थियो । खोटाङका गायक रेवत राईको प्रस्तुतीबाट पनि दर्शकले खुब मनोरञ्जन लिए ।
पार्श्व गायनसँगै कार्यक्रममा धरानबाट आएको आउटसाइडर ब्याण्ड र दार्जिलिङको फ्रोजन ब्याण्डले पनि यूवावर्गलाई खुब उफारेको थियो । झिलझिलेका तर्फबाट दिनेश गजमेर, सुरेन तामाङ र सुरेन शिवाकोटीको समुहले एउटा सांगीतिक प्रस्तुती दिएको थियो । दमक डान्स सेन्टरका कलाकारहरुको नृत्य पनि कार्यक्रममा देखाइएको थियो ।

कार्यक्रममा भवन निर्माणका लागी सहयोग गर्ने व्यक्ति र अतिथिहरुलाई संयोजक सुरजरिगांलुङ राई र आयोजकका अध्यक्ष पर्शुराम रिगांलुङ राईले खादा ओढाएर सम्मान गरेका थिए ।




Comments