गौरव पोखरेल
बन्दनिषेधित शान्ति क्षेत्र, पर्यटकीय नगरी, चेतनशील, बौद्धिक, प्रबुद्ध, लब्ध प्रतिष्ठित एवम् प्रगल्भ व्यक्तित्वहरुको संगम स्थल सुरुङ्गा हाल खेलकुदीय भूमिका रुपमा नवीन एवम् पृथक पहिचान कोर्ने महान अभियानमा जुटेको छ । शैक्षिक क्षेत्रको दृष्टिकोणबाट होस् या सामाजिक संघसंस्था तथा तिनको नियमित कार्यक्रमहरुको दृष्टिकोणबाट नै किन नहोस्, नेपालको पूर्वी जिल्ला झापामा यस सुरुङ्गा क्षेत्र अग्रणी स्थानमा रहेको कुरामा दुईमतै छैन । यहाँका आम जनमानसको आपसी मेलमिलाप तथा सद्भाव सिङ्गो नेपाली समाजकै लागि उदाहरणीय साबित भई सकेको छ । बन्द निषेधित शान्ति क्षेत्रको रुपमा देशभर पृथक पहिचान बनाउन सफल यस क्षेत्रको समग्र विकास, उन्नति एवम् प्रगतिका लागि यहाँका सम्पूर्ण संघसंस्था र तिनका प्रतिनिधि, नागरिक समाज, प्रहरी प्रशासन एवम् आम जनमानस यस क्षेत्रको सामुहिक हित र विकासका लागि अग्रसर या भनौं उद्यत रहेको आभाष गर्न सकिन्छ ।
यही सन्दर्भमा सुरुङ्गालाई खेलकुदीय भूमिको समेत पहिचान दिन यहाँका संघसंस्थाहरु जुटेका छन् ।
सुरुङ्गाका चेतशील युवा मनहरु नेपाली मौलिक परम्परा, रीतिरिवाज, संस्कृति, कला अनि साहित्यलाई जर्गेना गर्ने तथा सम्पूर्ण युवा जनशक्तिलाई ऐक्यबद्ध बनाई समाजलाई समग्र प्रगतिको मार्ग निर्देशन गर्ने हेतुका विभिन्न संघ संस्थाको छातामुनि संगठित भएका छन् । यही सन्दर्भमा यहाँका चेतनशील एवम् समाजसेवामा सदा समर्पित सक्रिय युवाहरुको सामुहिक रुपमा सुरुङ्गा जेसीज जसले आफ्नो स्थापना कालबाटै प्रभावकारी एवम् समाजको सर्वोत्तम हितका लागि विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्दै आएको यही युवा जमातको छाता संगठनले समाज सुधारको पाटोमा प्रभावकारी भूमिका खेल्दै आएको कुरा आम कनकाई नगरवासीले मनन् गरेका छन् । खेलकुदमा पनि विशेषतः फुटबलप्रेमीहरुको बाहुल्यता रहेको यस सुरुङ्गा क्षेत्रमा सुरुङ्गा जेसीजको आयोजनामा २०६६ सालमा वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको थियो । तत्पश्चात २०६७ सालमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता र २०६९ सालमा फुटबल फेस्टिबल जेसीजले सम्पन्न गरिसकेको छ भने २०७० सालबाट सुरुङ्गा गोल्ड कपको समेत सुरुवात गरेको छ । यही सन्दर्भमा सुरुङ्गामा गोल्ड कपको आयोजनालाई निरन्तरता दिँदै यही आश्विन २८ गते मंगलबारबाट कार्तिक ४ गते मंगलबारसम्म सुरुङ्गा गोल्डकप २०७१ सञ्चालन हुँदैछ । गत वर्षसमेत आयोजना गरिएको यस फुटबल प्रतियोगितामा यस वर्ष प्रथम हुने टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा दोस्रो हुने टिमले ५१ हजार १ सय ११ रुपैयाँको नगद राशी प्राप्त गर्नेछन् । यसका साथै खेलमा दैनिक उत्कृष्ट खेलाडी घोषणा गर्दै पुरस्कृत गरिनेसमेत जेसीजले जनाएको छ । यसरी यस प्रतियोगिताले सुरुङ्गालाई शोभायमान बनाउन एउटा महत्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।
सुरुङ्गा जेसीजको नियमित वार्षिक कार्यक्रमअन्तर्गत सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिता यही मंगलबारबाट शुरु हुन गइरहेको हो । स्थानीय कनकाई उच्च माध्यमिक विद्यालयको खेलमैदानमा हुने फुटबल प्रतियोगितामा नेपाल सहित अन्य विभिन्न देशका गरी ८ वटा फुटबल टिमको सहभागिता रहने छ, जसले गर्दा खेल एकदमै रोमाञ्चक हुने खेलप्रेमीहरुको विश्वास छ । स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने महान् उद्घोषका साथ सञ्चालित यस सुरुङ्गा जेसीजको खेलकुदीय अभियानले सुरुङ्गालाई खेलकुदीय भूमिको रुपमा स्थापित गराउन सफल भएको देखिन्छ । सुरुङ्गा जेसीजका साथै यहाँका ज्ञान ज्योति युवा क्लब, सुरुङ्गा सहकार्य युवा क्लब जस्ता युवा समूह र अन्य सामाजिक संघ संस्थाको कदमले सुरुङ्गालाई जिल्लाकै नमूना क्षेत्रको रुपमा स्थापित गराउँदै आएको कुरामा कुनै सङ्कोच नै छैन ।
युवा वर्गको सृजनात्मक पक्षको श्रीवृद्धिका लागि सुरुङ्गा जेसीज र यहाँका अन्य संघसंस्थाहरुले चालेको कदम सराहनीय छ ।
यस अभियानले सुरुङ्गाको महिमा र गरिमालाई अझ बढवा दिने कुरामा दुई मत नै छैन । प्रतियोगितामा आयोजक सुरुङ्गा, झापा-११, उर्लाबारी फुटबल क्लब मोरङ्ग, कञ्चनजङ्घा स्पोर्टिङ क्लब सिलगुडी, चर्च ब्वाइज काठमाण्डौं, अफ्रिकन युनाइटेड क्लब काठमाण्डौं र धरान फुटबल एकाडेमी सुनसरीको सहभागिता रहने सुरुङ्गा जेसीजका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए ।
प्रतियोगितालाई सभ्य, भव्य एवम् सहज रुपमा सम्पन्न गर्न विभिन्न समिति तथा उपसमिति गठन गरिएको छ । सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लीलाप्रसाद चिमरियाको संयोजकत्वमा श्यामकुमार पौडेल, टीकाप्रसाद जमरकट्टेल र डम्बरप्रसाद फुयाँल रहेको अनुगमन समिति गठन भएको छ भने सुरुङ्गा जेसीज २०१४ का अध्यक्ष शिवकुमार कँडेलको सभापतित्वमा १७ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ । त्यसैगरी दिलकुमार कार्की संयोजक रहेको ५ सदस्यीय मैदान व्यवस्थापन समिति, जनक कार्की संयोजक रहेको ५ सदस्यीय स्टेज व्यवस्थापन समिति, त्रिलोचन उप्रेती संयोजक रहेको पत्रचार एवम् सञ्चार समिति समेत गठन गरिएको छ । प्रतियोगितामा हुने खर्च व्यवस्थापनका लागि कुमारमणि पोखरेल संयोजक, जनक कार्की सचिव एवम् जमिन तिम्सिना, त्रिलोचन चिमरिया र त्रिलोचन उप्रेती सदस्य रहेको आर्थिक समिति गठन गरिएको छ ।
राष्ट्र निर्माणका लागि जोश, जाँगर, उत्साह र उमङ्गका साथ स्थानीय स्तरबाटै राष्ट्रप्रेमी भावले ओतप्रोत भएर विभिन्न किसिमका श्रृजनात्मक कार्यहरु गर्दै आएको यस सुरुङ्गा जेसीजले विभिन्न विद्यालयमा अध्ययनरत गरिव वर्गका विद्यार्थीहरलाई स्वेटर वितरण, रक्तदान, वृक्षारोपण, धार्मिक एवम् पर्यटकीय क्षेत्रको सरसफाइ, भारतीय टेलिभिजन जीटिभीको चर्चित रियालिटी सो डिआइडी लिटल मास्टर्सको उपाधि जित्न सफल नेपाली बालिका तेरिया फौजा मगरको सम्मान तथा युवाहरुको क्षमता विकासका लागि विभिन्न किसिमका प्रशिक्षणहरु सञ्चालन गरिसकेको छ । यसरी विभिन्न कार्य गरेर सुरुङ्गाको गरिमालाई बढवा दिन अहोरात्र खट्ने ती युवा मनहरुको पवित्र भावना र मर्मलाई आज नीति निर्माणको उच्च तहमा रहेका नेताहरु पनि राष्ट्र निर्माणको बाटोमा अग्रसर हुनु समय सान्दर्भिक रहेको छ ।
सुरुङ्गालाई स्वच्छ एवम् हराभरा बनाउन ग्रिन सिटी, क्लिन सिटी सुरुङ्गाको नाराका साथ सुरुङ्गा जेसीजले वातावरणको संरक्षणमा समेत प्रभावकारी भूमिका खेल्न सफल भइसकेको छ । यसरी सुरुङ्गा आजको अवस्थामा आइपुग्नुका पछाडी राष्ट्र निर्माणका अभियन्ता, पवित्र भावनाका पुञ्ज युवा वर्ग, यहाँका शिक्षासेवा, चन्दादाता तथा सम्पूर्ण सामाजिक संघ संस्था र तिनका पदाधिकारीहरुलाई नै जान्छ । सदा सामुहिक हितमा तल्लीन रहने सुरुङ्गाका युवा मनहरुबाट सिङ्गो नेपालले प्रेरणा लिँदै राष्ट्रको समृद्धिको महान पथमा गन्तव्य अघि बढाउनु आजको माग हो ।
pokharelgaurav80@gmail.com
कनकाई नगरपालिका-३, झापा

Comments
Post a Comment