अमेरिकामा कार्यरत चिकित्सक सुरूङ्गामा विरामी जाँच्दै



१० कार्तिक, सुरुङ्गा ।
न्यू सिद्धकाली स्वास्थ्य सहकारी संस्था, सुरुङ्गा र कनकाई उच्च मा.वि.सुरुङ्गाबाट २०५० सालमा एस.एल.सी.मा समावेश भएका पूर्व विद्यार्थीहरुको संयुक्त आयोजनामा न्यू सिद्धकाली अस्पताल सुरुङ्गामा आजदेखि निःशुल्क दुई दिने स्वास्थ्य शिविर शुरु भएको छ ।
मंगलबारसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा मुटु, छाती, मधुमेह र रक्तचापका बिरामीलाई चेकजाँच गरी आवश्यक सल्लाह र औषधि प्रदान गरिने आयोजकले जनाइएका छन् ।
स्वास्थ्य शिविरमा अमेरिकाको टफ्टस विश्वविद्यालयबाट एम.डी.मा गोल्ड मेडल प्राप्त गरी अमेरिकाकै लेक्स रिजन जेनेरल हस्पिटलमा एसोसिएट प्रोफेसरका रुपमा कार्यरत सुरुङ्गा निवासी विशेषज्ञ डा.खगेन्द्रविक्रम दाहालबाट निःशुल्क स्वास्थ्य जाँच भइरहेको छ। बिरामीलाई विभिन्न ल्याब टेष्टमा ५०% र औषधिमा १०% छुट दिइएको अस्पताल स्रोतले जनाएको छ ।



सुरुङ्गा सहकार्य युवा क्लब र ज्ञानज्योति युवा क्लब सुरुङ्गाले शिविरमा सहयोगी संस्थाको भूमिका खेलेका छन् । बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन हुने शिविरको उद्घाटन कार्यक्रममा कनकाई उच्च मा.वि. सुरुङ्गाका पूर्व प्रअहरु चन्द्रप्रसाद मैनाली र कोमलप्रसाद पोखरेल, पूर्व सप्रअ बुद्धदेवप्रसाद घिमिरे, वर्तमान प्रअ इश्वरीप्रसाद शिवाकोटी, सप्रअ निर्मलकुमार खतिवडा, पूर्व शिक्षक कुसुम घिमिरे, लालपानी माविका प्रअ बालकृष्ण प्रसाईं लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा युवा समाजसेवी लीलाप्रसाद चिमरियाले आफ्नो ठाउँ सम्झेर गाउँको सेवा गर्न आएका युवाहरुलाई धन्यवाद दिए । डा. पुण्यप्रसाद पौडेल, शिवकुमार कँडेल, मेदनीप्रसाद पाठक, राजेन्द्र खतिवडा, कुमारमणि पोखरेल, लीलाप्रसाद भेटवाल, भवानीदेवी दाहाल लगायतको आतिथ्य रहेको कार्यक्रममा डा. दाहालले आफ्नो स्वास्थ्यको लागि आफैं सजक रहन र आफ्ना आचार विचार र व्यवहार ठिक राख्न सल्लाह दिएका थिए । शिविरमा मुख्य भूमिका खेल्ने २०५० सालमा कनकाई उमाविबाट एसएलसीमा सामेल पूर्व विद्यार्थीहरु केशव सिलवाल, देवेन्द्र शिवाकोटी, डम्बर थापा, भीम फुयाँल, बुद्धि ढकाल लगायतले गरिव र तल्लो वर्गका मानिसलाई स्वास्थ्यको क्षेत्रमा सानै भएपनि सहयोग गरौं भन्ने भावना अनुसार सरकारी विद्यालयमा नै पढेर पनि समाजका लागि केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न शिविर सञ्चालन गरिएको बताए । शिविरमा सेवाग्राही ओम पाठकले मुटु तथा चिनी रोगका बिरामीहरुलाई डा. दाहालले राम्ररी चेकजाँच गरी असल सल्लाह दिने गरेको र स्वास्थ्य शिविर सफल भएको बताए । सोमबारको शिविरमा २ सय ५ जनाले सेवा लिएका थिए ।
केशव सिलवालको स्वागत मन्तव्य र न्यू सिद्धकाली स्वास्थ्य सहकारी संस्था लि.का सञ्चालन समितिका अध्यक्ष गोकर्ण ओझाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भरतकुमार श्रेष्ठले गरेका थिए ।

फोटोमाः डा. दाहालसँग स्वास्थ्य परामर्श लिँदै कनकाई उच्च माविका प्रअ इश्वरीप्रसाद शिवाकोटी ।




Comments