महासंघ झापाले 'एफएनजे टाइम' लागू गर्ने





२ कार्तिक, बिर्तामोड।
नेपाल पत्रकार महासंघ झापा शाखाले महासंघको संस्थागत विकास र पत्रकारिता पेशालाई अझ मर्यादित बनाउने लगायतका विभिन्न निर्णय गरेको छ ।
महासंघका अध्यक्ष भीम नेम्बाङको अध्यक्षतामा आज बिर्तामोडमा बसेको वैठकले महासंघको आम्दानीको दीगो स्रोत खोजी स्रोत जुटाउने लगायतका निर्णय गरेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए ।
महासंघले संस्कृति संरक्षणका लागि तिहारमा महासंघको तर्फबाट कार्यसमितिसहित सञ्चारकर्मीको सहभागितामा जिल्लाको विभिन्न स्थानमा देउसी भैलो खेल्नेसमेत निर्णय गरेको छ । त्यस्तै महासंघ र जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा यही कार्तिक १० गते चन्द्रगढीमा ४० जना र कार्तिक ११ गते दमकमा ३० जना सञ्चारकर्मीको सहभागिता गराई कृषि क्षेत्रको विकासका लागि सञ्चारको भूमिका विषयमा कार्यशाला गर्ने निर्णय गरिएको छ ।


मिडिया सेन्टर सञ्चालन गर्ने महासंघको प्रस्ताव बमोजिम प्रेस काउन्सिल नेपालबाट अनुदान स्वरुप १ लाख ५० हजार रुपैयाँ प्राप्त भई एक सेट कम्प्युटर, व्याट्री २ थान, इन्भर्टर एक थान र प्रोजेक्टर १ थान खरिद गरी मिडिया सेन्टर सञ्चालनमा ल्याइएको जानकारी सहित सो कार्यको अनुमोदन गरियो ।
महासंघ केन्द्रीय समितिले शुरु गरेको पत्रकार श्रीलाल साह बचाउ अभियान अन्तरगत झापाका सञ्चारकर्मीलाई रु एक सयका दरले रकम जम्मा गर्न महासंघ झापाले अपिल गर्ने र रकम संकलन गरी केन्द्रमा पठाउने निर्णय गरेको छ । छातीको गम्भीर संक्रमण भई विरामी परेर पाटन अस्पतालमा उपचार गराइरहनु भएका अग्रज पत्रकार श्रीलाल साहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । साथै पत्रकार श्रीलाल साह बचाउ अभियानका लागि झापामा रु. एक सय संकलन अभियान आइतबारबाटनै शुरु भएको छ ।
समयको महत्व अनुभूति गराउन कार्यसमितिका वैठक तथा महासंघका कार्यक्रममा महासंघका पदाधिकारी, कार्य समिति सदस्य तथा सदस्यहरुलाई निर्धारित समयमै अनिवार्य उपस्थिति गराउन 'एफएनजे टाइम' लागू गर्ने निर्णय गरेको छ ।
पत्रकारिता पेसालाई अझ मर्यादित र शुद्धिकरण गर्दै पत्रकारहरुलाई पेशाप्रति अझ जिम्मेवार बनाउन महासंघको बिर्तामोड स्थित कार्यालयमा उजुरी पेटिका राख्ने, पेटिकामा परेका उजुरी महासंघको वैठकमा टेवल गरी त्यसउपर छलफल र निर्णय गर्ने निर्णय भएको छ ।


त्यस्तै गत असोज २९ गते बी एण्ड सी हस्पिटलको चेक चोरीको आरोपमा प्रहरी हिरासतमा राखिएका दीपक कार्कीसँग समाचार सन्तुलित बनाउनका लागि इप्रका बिर्तामोडमा डीएसपी सञ्जयबहादुर राउतको अनुमतिमा प्रतिक्रिया लिन जाँदा महासंघ झापाका उपाध्यक्ष तारामणि सापकोटामाथि प्रहरी कार्यालय परिसरमै कार्कीका ज्वाई रमेश अधिकारी, भाइ रमेश कार्की, छोरा प्रशान्त कार्की लगायतको समूहले दुर्व्यवहार गरेको घटनाप्रति महासंघले घोर निन्दा र भर्त्सना गर्नुका साथै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न सम्बन्धीत निकायसँग माग गर्ने र प्रहरीले कारवाही प्रक्रियामा गरेको ढिलासुस्तीप्रति माथिल्लो निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
महासंघका कार्यसमिति सदस्य रमेश क्षेत्री अध्ययनका लागि इजराइल जान माग गरेको ११ महिनाको विदा स्वीकृत गर्ने निर्णय गर्दै उनको अध्ययनको सफलता र प्रगतिको कामना गरिएको छ ।
महासंघले दीपावली, छठ, न्हूँ दँया भिन्तुनाको पावन अवसरमा झापा तथा देशभरका सम्पुर्ण सञ्चारकर्मी र सञ्चार क्षेत्रमा संलग्न सम्पूर्ण महानुभावहरुसहित नेपाली दाजु तथा दिदी वहिनीमा सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेको छ ।


Comments