सम्भावित द्वन्द्वप्रति गम्भीर हुनुपर्ने सुरक्षा प्रमुखहरूको धारणा





३० असोज, चन्द्रगढी ।
संविधान निर्माणको समय छोटिएसँगै जिल्ला तहमा उत्पन्न हुन सक्ने समस्या समाधानका लागि सबै पक्ष गम्भीर हुनुपर्ने झापाका प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरुले जोड दिएका छन् ।
संविधानमा आफ्ना माग सम्बोधन गराउन विभिन्न पार्टीका संगठन र समुदायले संगठित रुपमा दबाब सृजना गर्न सक्ने र त्यसबाट समस्या निम्तन सक्ने आँकलन गरिएको छ ।
द्वन्द्व पहिचान तथा विश्लेषण समिति झापाको आज विहीवार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलले सम्भावित समस्याको पहिचान र विश्लेषण गरी सम्वाद र सहमतिका माध्यमबाट समस्या समाधानमा अग्रसर हुन सम्बन्धीत पक्षहरुलाई आग्रहसमेत गरेको छ ।



समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी एकमणि नेपालको अध्यक्षतामा भएको छलफलमा स्थानीय तथा क्षेत्रीय तहका समस्याका विषयमा विश्लेषण गरिएको थियो ।
जिल्ला तहमा कुनै समस्या निम्तिएको अवस्थामा सम्वादलाई निरन्तरता दिन समितिले सम्वाद समूहलाई निर्देश गरेको छ । समितिका संयोजक प्रजिअ नेपालसँगै समितिका सदस्यहरु बरिष्ठ प्रहरी उपरीक्षक पुष्कलराज रेग्मी, प्रहरी उपरीक्षक मुकुन्दराज आचार्य, सशस्त्र प्रहरी उपरीक्षक प्रेम पोखरेल, स्थानीय विकास अधिकारी फणिन्द्र दाहाल, निमित्त जिल्ला शिक्षा अधिकारी उद्धव विष्ट र राष्ट्रिय अनुसन्धानका उपनिर्देशक ओम खड्काले विभागीय रुपमा जिल्लाका सम्भावित समस्या र त्यसबारेको विश्लेषण प्रस्तुत गरेका थिए ।
संवाद समूहको सचिवालयको संयोजनमा भएको छलफलको सहजीकरण अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।


Comments