पत्रकार महिलालाई लुट्न खोज्ने दर्जीविरूद्ध सार्वजनिक मुद्दा




९ कार्तिक, विर्तामोड ।
बाटो छेकेर सिक्री लुट्न खोज्ने र महिलामाथि दुर्ब्यवहार गर्ने इलाम दानाबारी-३ का सौजन दर्जीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाएको छ ।
गत कार्तिक ६ गते विर्तामोडको गरुवा बसस्टेण्ड पूर्वको गल्लीबाट कृषि थोक बजारतर्फ गइरहेको अवस्थामा अर्जुनधारा दैनिकका सहयोगी अनुषा चुडाललाई बाटो छेकी सिक्री लुट्न खोज्दा दर्जीलाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।
उक्त गल्लीमा यसअघि पनि पटक-पटक लुटपाट हुने गरेको थियो । केहीदिन अघि चारलाख रूपैयाँ नगद र ल्यापटपसहित एक ब्यक्ति लुटिएका थिए । दर्जीसहितको लुटपाट गिरोहमा स्थानीय एक संदिग्ध महिलाको समेत संलग्नता रहेको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




तिहार पर्वका कारण अदालत विदा रहेको हुँदा पक्राउ परेका दर्जीलाई आइतबार अदालतमा उपस्थित गराएर म्याद थप गरी केही सार्वजनिक अपराध ऐन अन्तरगत कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।
पत्रकार महिलामाथि भएको उक्त घटनाको नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनले घोर निन्दा र भर्त्सना गरेका छन् । आम नागरिकले स्वतन्त्रतापूर्वक हिंडडुल गर्न पाउने नैसर्गिक अधिकारको रक्षाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि कारबाहीको माग गरिएको छ ।
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष भीम नेम्बाङले जनताको सुरक्षामा गम्भीर चासो ब्यक्त गर्दै संदिग्ध ब्यक्तिहरुमाथि कडा निगरानी राखी प्रहरी गस्ती बढाएर शान्ति सुरक्षा प्रदान गर्न माग गरेका छन् ।


Comments