सफलताको पर्खाईमा छु - गायक राई




नेपाली सांगीतिक क्षेत्रमा नवप्रवेशीहरुको भीड थामी नसक्नु छ । कोही एकैछिनको रहरले आउँछन् त कोही यही क्षेत्रमा आफ्नो भविष्य निर्माण गर्ने सोच बोकेर । तिनीहरु मध्येबाट कोही बीचैमा हार खाई अन्य क्षेत्रमा लाग्छन् अनि कोही विदेश पलायन हुन्छन् । निरन्तरता नै सबैभन्दा ठूलो उपलव्धीका रुपमा लिने पूर्वेली गायक भूवन सुप्तेहाङ राई भने विगत एक दशकदेखि निरन्तर यसै क्षेत्रमा संघर्षरत छन् । शास्त्रीय संगीतमा स्नातक गरेका उनले श्री गुरुदेव कामतसँग सांगीतिक शिक्षा लिएका छन्। सानो छँदा बाजेको रेडियोमा गुञ्जने गायक नायाण गोपाल, कुमार कान्छा,उदीत नारायाण झा लगायतको गीत सुनेर सांगीतिक क्षेत्रमा प्रवेश गर्ने प्रेरणा मिलेको बताउने उनी आफूलाई यर्थाथबादी गायक भन्न रुचाउँछन् । यिनै गायकसँग गरिएको छोटो कुराकानी -

सांगीतिक व्यस्तता कस्तो छ ?
पछिल्लो समयमा संगीत क्षेत्रमै व्यस्तै छु भन्नुपर्छ । दशैंको अवसर पारेर भएका विभिन्न सांगीतिक कार्यक्रमहरुमा गीत प्रस्तुत गर्नमा व्यस्त भएँ। यसका अलवा नयाँ वर्षको अवसर पारेर पाँचौ एकल एल्वम 'सम्मान् मेरो' ल्याउने तयारीमा जुटेको छु।

'सम्मान् मेरो'मा कस्ता गीतहरु समावेश गरिएका छन् ?

मेरो यस एल्वममा जम्मा ७ वटा गीतहरु समावेश छन् । विषेशतः यसमा गजल र आधुनिक गीतहरु समावेश छन् । जसमा खनालको मान्छे, जेनी संयोगी, जीतेन्द्र रसिक, मुकेश राई, बिश्वकाजी राई, जेवी राई र महेश राणाको रचना रहेको छ भने सबै गीतहरुमा संगीत मैले एक्लैले दिएको छु ।


गायकबाट संगीतकार बन्नुको कुनै कारण ?
खास त्यस्तो कुनै कारण छैन । र मैले गायकीसँगसँगै संगीतकारको पनि भूमिका निर्वाह गरेको यो पहिलोपल्ट हैन। यसअघि पनि मैले मेरो पहिलो एल्वम 'तिम्रो माया' मा संगीत दिइसकेको छु । मेरो त्यस संगीतलाई सबैले मन पराई प्रेरणा दिनुभएको कारणले गर्दा यस क्षेत्रमा लागेको हुँ। साथै मैले हालसम्म मेरो एल्वमबाहेक स्वर्गीय गायक कुमार कान्छा र अर्का गायक राजेश पायल राईको गीतमा पनि संगीत दिइसकेको छु।

तपाईंलाई श्रोताले गायकका रुपमा लिने कि संगीतकारका रुपमा ?
सर्वप्रथम त म आफूलाई श्रोतामाझ गायकका रुपमा चिनाउन चाहन्छु, किनकि जूनबेला म सांगीतिक क्षेत्रमा प्रवेश गरेको थिएँ, त्यसबेला मेरो एउटै चाहाना थियो कि राम्रो गायक बन्ने । गायिकी नै मेरा लागि सबै कुरा हुन्।

कति भयो यस क्षेत्रमा प्रवेश गर्नुभएको ?
मैले औपचारीक रुपमा सांगीतिक क्षेत्रमा प्रवेश गरेको १ दशक पुरा भइसक्यो । योभन्दा अगाडी पनि म संगीत कक्षामा व्यस्त हुन्थें सगीत सिक्न ।


यतिका लामो संघर्ष गर्दा पनि अन्य गायकहरु जस्तो चर्चामा नआउनुको कारण ?
मेरो विचारमा छोटो समयका लागि चर्चामा आउनुभन्दा सदाबहार रुपमा टिकिरहनु ठूलो कुरा हो । र म गीत चर्चाको लागि भन्दा पनि आत्मसन्तुष्टीका लागि गाउने गर्दछु । समय सबैको आउँछ समयभन्दा अघि कोही जान सक्दैन। त्यसैले मैले पनि मेरो सही समय आउने आशा राखेर निरन्तर संघर्ष गरिराखेको छु।

यस क्षेत्रमा आउन चाहनेहरुलाई के भन्न चाहनुहुन्छ ?
यस क्षेत्रमा आउन चाहनेहरुलाई त्याग, तपस्या, धैर्य र संगीतसम्बन्धी ज्ञान लिएर आउनुहोस् भन्छु । निरन्तर यस क्षेत्रमा रहन यी कुराहरु अति आवश्यक छन् ।

कन्सर्टमा कुनकुन गीत गाइरहनु हुन्छ ?
कन्सर्टको स्वरुप तथा दर्शकहरुको रोजाईका आधारमा गीत गाउँछु । 'काम गरेनी कसैले अपजस् त पाकै छ, काम नगरेनी कसैले गफ चुटेर खाकै छ', 'मायाको फूल टिपी सिरैमा, सिउरीदिउँ कि मायालु', 'इलाम बजार घुम्ने रहर आज पुरा भयो, तिम्रो हात माग्ने मेरो घरमा कुरा भयो' र 'आईडी छ कि छैन बहिनी साह्रै दुःख पाइयो, गोरखा भर्ती जाउँ भने उमेर धेरै खाइयो' जस्ता गीत नियमित गाइरहेको हुन्छु ।


अन्त्यमा.... ?

नयाँ वर्षको अबसर पारेर नयाँ एल्वम 'सम्मान् मेरो' ल्याउँदै छु । पहिलाका एल्वमहरुप्रति यहाँहरुले दिनुभएको साथलाई धन्यवाद दिँदै आगामी दिनहरुमा पनि हजुरहरुको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दै आगामी एल्वमका गीतहरु सुनिदिन अनुरोध गर्दछु।

प्रस्तुति - किशोर श्रेष्ठ


Comments