२६ असोज, दमक।
सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुर दमकमा जारी दोश्रो अन्ताष्ट्रिय आमन्त्रण दमक गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ ।
सरस्वती उच्च माविको खेल मैदानमा आज भएको खेलमा आयोजक दमक फुटबल क्लबमाथि ६ एकको फराकिलो जीत हात पार्दै एपिएफ ले अन्तिम चारको यात्रा तय गरेको हो । एकतर्फि जस्तो भएको खेलमा सशस्त्रले खेल सुरु भएको दोश्रो मिनेटबाटै गोलको खाता खोलेको थियो । दोश्रो मिनेटमा एपिएफका कप्तान खगेन्द्र भुजेलले एकल प्रयासमा गोल गरेका थिए । तर बाह्रौं मिनेटमा एपिएफका खेलाडीले डि बक्सभित्र हेण्ड गरेपछि पाएको पेनाल्टीलाई आयोजकका निसान राईले गोल गर्दै खेल बरावरीमा ल्याएका थिए ।
पहिलो हाफको २५ औं मिनेटमा मैदानको बीच भागबाट एपिएफका प्रदिप चौधरीले प्रहार गरेको फ्रि किक सिधै गोलमा परिणत भएपछि सशस्त्रले दुई एकको अग्रता लिन सफल भयो । दोश्रो गोलको ३ मिनेट वित्न नपाउदै सुमित आलेको पासमा हरि कार्कीले गोल गरे । लगातार गोल खाएको दमकले पहिलो हाफको अन्त्यमा झनै लय गुमाउन पुग्यो । पहिलो हाफको इन्जुरी समयमा प्रदिप चौधरीले ब्याक्तिगत दोश्रो तथा टोलीको लागि चौथो गोल गर्न सफल भए ।
पहिलो हाफमा चार एकले पछिपरेको दमकले दोश्रो हाफमा भने केहि सम्हालिएको खेल प्रदशन गर्न सफल भयो । तर दोश्रो हाफको २३ औं मिनेटमा सुमित लिम्बुले गोल गर्दै एपिएफको गोल अन्तर पाँच एकमा पुर्याए ।
दोश्रो हाफको ३० औं मिनेटमा दमकका पारस लिम्बु दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दमक अन्तिम ५ मिनेट दश खेलाडीमा सिमित भएको थियो । त्यसको फाइदा उठाउँदै दोश्रो हाफको ३२ औं मिनेटमा निसान लिम्बुले गोल गरेपछि एपिएफ फराकिलो जीत हात पार्न सफल भयो । खेलको म्यान अफ द म्याच सशस्त्रकै प्रदिप चौधरी घोषित भए ।
प्रतियोगिताअन्तर्गत सोमबारको खेल फेन्स क्लब भुटान र चर्च व्वाईज क्लब काठमाण्डौबीच हुने आयोजक समितिका सदस्य सन्दिप चापागाईले जानकारी दिए ।

Comments
Post a Comment