बढ्दो साइवर क्रेजले बिग्रँदै वालवालिका






तेज बन विश्वासी
१३ कार्तिक, सुनसरी ।
इटहरी आइतवारेकी शान्ता खड्का आफ्नो ७ वर्षीय छोरो खोज्न सबै गाउँ चहार्छिन् तर फेला पार्न सक्दिनन् । खोजी गर्दै जाँदा अन्ततः उनले इटहरीकै एक साइवर क्याफेबाट आफ्नो छोरो फेला पार्छिन् र पिट्दै घर लान्छिन्।
७ वर्षीय ती बालक घर पुगेको केही क्षणमै अर्को साथी लिएर पूनः त्यही साइवर आइपुग्छन् तर यो पल्ट उनकी आमा उनलाई खोज्न आउँदिनन् । झण्डै २ घण्टापछि उलगायत उनका साथी साइवरबाट निस्किएर भोली आउने वाचा गर्दै घर जान्छन् ।
उनी साइवरमा न त कोहीसँग च्याट गर्छन् न त कुनै 'वेवसाइट ब्राउज' गर्छन् । उनी त केवल साइवरमा गेम मात्र खेल्छन् र दिनमा लगभग १ सय रुपैयाँ सिध्याउँछन् ।
यी बालक त प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्ता दर्जनौं वालवालिकाहरुको दिनचर्या इटहरीमा यसैगरी बित्ने गरेको छ ।



इटहरीमा बग्रेल्ती खुलेका साइवर क्याफेहरुमा राखिएका कम्प्युटर गेमका कारण बालवालिकाहरु पछिल्लो समय बिग्रँदै गएका छन् ।
गेम खेल्नकै लागि भनेर केही वालवालिकाहरुले घरबाट पैसासमेत चोरेर साइवर धाउने गरेका अभिभावकहरुले बताएका छन् ।
साइवरहरुमा राखिएका गेमका कारण आफ्नो नानीले घरमा किताब हेर्नै छाडिसकेको इटहरीकी मिना कटुवाल बताउँछिन् । 'खाली पैसा मागेर दिक्क लगाउँछ', उनी भन्छिन् ।
इटहरीका अधिकांस अभिभावकहरुले हाल साइवर क्याफेका कारण आफ्ना नानीहरु बिग्रिसकेको गुनासो गर्न थालेका छन् ।
त्यस्तै इटहरीकै अर्की अभिभावक वर्षा श्रेष्ठ आफ्नो बच्चाहरु पनि साइवरका कारण बिग्रिसकेको बताउँछिन् । विद्यालय लागेको समयमा पनि छुट्टी हुनासाथ ड्रेसै नखोली साइवरतिर गेम खेल्न कुदिहाल्ने उनी बताउँछिन् ।
यता साइवर ब्यवसायीहरुले पनि केटाकेटीहरुले ल्याएको रकमको बिषयमा सोध्दै नसोधी ढुक्कले गेम खेल्न दिने गर्नाले झनै समस्या बढेका अभिभावकहरु बताउँछन्।
यता अभिभावकहरुको गुनासो बढेपनि ब्यावसायिक रुपमा रहेका साइवरहरु पनि त्यती दोषी नरहेको प्रशासनले बताउँदै आएको छ । ब्यवसाय सबैले गर्न पाउनुपर्छ । ब्यवसायबाट मारमा परिएको छ भने तुरुन्त प्रहरीमा उजुरी दिनुपर्छ । तर हालसम्म सुनसरीमा साइवर क्याफेसम्बन्धी कुनै उजुरी नपरेको प्रमुख जिल्ला अधिकारी रविलाल पन्त बताउँछन् ।
पूर्वको ब्यापारीक केन्द्र इटहरीमा हाल आधादर्जन साइवर क्याफेहरु सञ्चालनमा छन् ।






Comments