पूर्वमा तीन विमानस्थलको सम्भाव्यता अध्ययन गरिने



२९ असोज, उदयपुर ।
विमानस्थल आवश्यक भएका ठाउँ छानेर नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्राधिकरणले सुनसरीको धरान, धनकुटाको मारेककटहरे र पाँचथरको रानीटारमा विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ ।





प्राधिकरणले ती ठाउँमा विमानस्थल सञ्चालन गर्न उपयुक्त छ कि छैन भनेर सम्भाव्यता अध्ययन गरी आवश्यक काम अगाडि बढाउने जनाएको छ । प्राधिकरणले सम्भाव्यता अध्ययन गरिसकेपछि ती ठाउँमा विमानस्थल बनाउन लगानी गर्ने कि नगर्ने भन्ने निर्णय गर्नेछ । ती ठाउँ विमानस्थल बनाउन उपयुक्त देखिए लगानीको हिसाबकिताव निकालिने प्राधिकारणले जनाएको छ । प्राधिकरणले सम्भाव्यता अध्ययनसँगै वातावरणीय प्रभाव मूल्याङ्कन र साइट सुपरभिजन पनि गर्नेछ । अध्यायनको लागि एक विमानस्थलमा तीन जनाको टोली खटाइने बताइएको छ ।
प्राधिकरणका अनुसार पूर्वाञ्चलको ओखलढुंगास्थित खिजीचण्डेश्वरी र इलामको फाल्गुनन्द सुकिलुम्बा चालु आर्थिक बर्षमा निर्माणाधीन रहेको छ । पूर्वाञ्चलमा सँगै मुलुकका विभिन्न ठाउँमा ८ वटा विमानस्थलको अध्ययन गरिने प्राधिकरण एरोड्रम अप्रेशन निर्देशनालयका उपमहानिर्देशक सुमन कुमार श्रेष्ठले बताए ।


Comments