कम्प्यूटर विषयको पढाई बन्द






३१ असोज, दमक।
झापाको बैगुन्धुरा-६ स्थित अमर उच्च माध्यमिक विद्यालयलमा हुँदै आएको कम्प्यूटर कक्षाको पठनपाठन बन्द भएको छ । विद्यालयले आन्तरिक रुपमा कम्प्यूटर कक्षाको ब्यवस्थापन गर्न नसक्दा त्यहाँको कम्प्यूटर कक्षा बन्द भएको हो । दक्षिणी ग्रामीण क्षेत्रको २०६४ सालमा पहिलो पटक विद्यालयले कम्प्यूटर विषयमा मावि तहमा ऐच्छिक विषयको पढाई सञ्चालन गरेको थियो ।
तर पछिल्ला तीन बर्षयता विद्यालयले कम्प्यूटरको पढाई सञ्चालन गर्न सकेको छैन । विद्यालयका कम्प्यूटर विषयका पूर्व शिक्षक ऋषि कुमार पौडेलले विद्यालयले आन्तरिक रुपमा व्यवस्थापन गर्न चासो नदिँदा कम्प्यूटर जस्तो प्राविधिक विषयको पठनपाठन रोकिन पुगेको बताए। उनले भने, 'विद्यालयको भौतिक पूर्वाधार हुँदाहुँदै स्रोत परिचालन गर्न नसक्दा समस्या आएको छ ।'




२०६३ सालमा स्टेण्डर्ड चार्टर्ड बैंकले १२ थान कम्प्यूटर विद्यालयलाई उपलब्ध गराएको थियो । त्यसवाहेक स्थानीय दाता महेश पौडेलले एक थान कम्प्यूटर उपलब्ध गराएका थिए । ती कम्प्यूटर पाएका चार बर्षसम्म जेनतेन चलाएपनि अहिले अधिकांस प्रयोगविहीन हुन पुगेका छन्। ती कम्प्यूटर विद्यालयको भण्डारण कक्षमा त्यतिकै अलपत्र अवस्थामा थन्किएका छन् ।
विद्यालयका प्रधानाध्यापक गोपाल प्रसाद पोख्रेलले कम्प्यूटर कक्षालाई नियमीत रुपमा सञ्चालन गर्न नसकिएको बताए । उनले कम्प्यूटर विषय प्राबिधिक विषय भएको र दक्ष जनशक्ति प्रयोग गर्न विद्यालयसँग स्रोत नहुँदाँ सवै कम्प्यूटर थन्किन पुगेको बताए ।
स्रोतका अनुसार जिल्लाका अन्य कयौं सामुदायिक विद्यालयहरुले सञ्चालन गर्दैआएका कम्प्यूटर विषयको पठनपाठन यस्तै हविगत रहेको छ ।




Comments