पोखरी विकासमा तीन करोडको गुरु योजना


-->


GAURADAHA POKHARI
परियोजना सफल भए वार्षिक ३० लाख रूपैयाँ आय
विष्णु पौडेल, दमक।
झापाको गौरादह गाविसको पहिचानसँग जोडिएको गौरादह पोखरी क्षेत्रलाई ऐतिहासिक महत्त्व बोकेको पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने गुरु योजना अन्तर्गत करिब ३ करोड रुपैयाँ लागतको परियोजना बनेको छ ।
गौरादह गाविसको पहलमा गठित ऐतिहासिक पोखरी पर्यटकीय स्थल निर्माण तथा व्यवस्थापन समितिले प्राविधिकहरुबाट स्टिमेट गराएर सो योजना बनाइएको हो । गौरादह- ९ मा पर्ने गौरादह गाविसको स्वामित्व रहेको कुल १२ विगाहा १० कठ्ठा जमिनमा रहेका ठूला साना गरी ६ वटा पोखरी तथा खाली क्षेत्रलाई पर्यटक आकर्षण केन्द्रका रुपमा विकास गर्ने परियोजना निर्माण गरिएको समितिका अध्यक्ष हेमन्त कार्कीले जानकारी दिए ।
उनका अनुसार परियोजना निर्माणको प्रस्ताव राष्ट्रिय योजना आयोग, स्थानीय विकास मन्त्रालय र पर्यटन मन्त्रालयमा समेत पेस गरिएको छ । गएको आर्थिक वर्षको अन्त्यतिर मात्रै प्रस्ताव पेस भएका कारण चालू वर्षको अन्त्य सम्ममा भए पनि केही बजेट पठाउने सरकारका विभिन्न निकाय तथा राजनीतिक नेतृत्वबाट आश्वासन पाइएको र आउँदो वर्ष परियोजना सञ्चालनका लागि लाग्ने सम्पूर्ण बजेट प्राप्त हुनेमा समिति आशावादी रहेको पनि अध्यक्ष कार्कीले बताए ।
-->


परियोजनाअन्तर्गत सो क्षेत्रमा पार्कसहितका दुई पोखरीलाई एउटै ठुलो पोखरी बनाएर स्विमिङ पुल बनाउने, स्वचालित र काठका समेत डुंगा सञ्चालन गरेर पर्यटकलाई आनन्द दिलाउने, जलेश्वर शिवालय मन्दिर बनाउने, झापामा रहेका सम्पूर्ण जातजातिको पहिचान झल्किने सांस्कृतिक भेषभुषसहितको संग्रहालय निर्माण गर्ने, ११ वटा हरित कटेज र १५ वटा आरामदायी फलैंचा निर्माण गर्ने लगायतका योजना छन् । पोखरी क्षेत्रको संरक्षणका लागि पक्की वाल कम्पाउन्डिङ गर्ने र पोखरीका डिलमा ३० फुट चौडाइ ग्राभेलिङ गर्ने समेत योजना रहेको अध्यक्ष कार्कीले बताए ।
परियोजनाअन्तर्गत पोखरीको सोही क्षेत्रमा बसोबास गर्दै आएका वास्तविक सुकुम्बासी परिवारको पहिचान गरी उनीहरुलाई अन्यत्र पुनर्वास गराउने योजना पनि रहेको छ । गौरादह गाविसले सिंगै गौरादह गाविसको पहिचान र महत्त्वसँग जोडिएको गौरादह पोखरी क्षेत्रको संरक्षण र विकासका लागि कार्कीको अध्यक्षतामा सबै सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गरेर जिम्मेवारी दिइएको जनाएको छ । गाविस सचिव दिलबहादुर भुजेलले सामूहिक प्रयासबाट नै गौरादह पोखरी क्षेत्रको संरक्षण र विकास गर्न सकिने निष्कर्षसहित सो समिति गठन भएको जानकारी दिए । उनले गाविसबाट समेत सो परियोजना सफल बनाउन उपल्लो निकायमा पहल कदमी भइरहेको बताए । भुजेलले भने, 'गौरादह पोखरीले यहाँको पहिचान मात्रै बोकेको छैन भोलिका दिनमा गाविसको दिगो आयस्रोत पनि पोखरी बन्न सक्नेमा दुईमत छैन ।'
-->


समितिका अध्यक्ष कार्कीका अनुसार सो परियोजना सञ्चालन गर्न सकिए गौरादह गाविसले पोखरीबाट मात्रै वार्षिक कम्तीमा ३० लाख रुपैयाँ आम्दानी गर्न सक्ने अनुमान पनि गरिएको छ । 'अहिले माछापालनको मात्रै कार्यक्रम रहेकाले गाविसले न्यून रकममा ठेक्का दिँदा क्षेत्रफल अनुसारको आयस्रोत पाउन सकेको छैन, बहुउद्देश्यीय यो परियोजना सम्पन्न भए एउटा नगरपालिकाको भन्दा धेरै वार्षिक आयस्रोत गौरादहको हुन सक्छ,' अध्यक्ष कार्कीले भने । उनले सो मात्रामा आयस्रोत भए गौरादह गाविस एक्लै पनि नगरपालिकाका रुपमा रहन सक्ने सम्भावना रहेको बताए । गौरादहका युवा व्यवसायी तथा मेची पेट्रोलियम डिलर्स एसोसिएसनका सचिव समेत रहेका भूपालराज कटुवाल गौरादहको पहिचान गौरादह पोखरीको विकास गर्न सकिए सिंगो गौरादह गाविसबासीकै भविष्य उज्जवल हुने बताउँछन् । 'यहाँको आम्दानीले गौरादह गाविसका ग्रामीण क्षेत्रमा समेत विकासका पूर्वाधार पुर्‍याउन सक्छ', कटुवालले भने ।



-->

Comments