साढे पच्चीस किलो चरेस बरामद



३१ असोज, बिराटनगर।
मोरङ र सुनसरी जिल्लाको दुई स्थानबाट प्रहरीले दुई दिनमा पच्चीस किलो ४०० ग्राम चरेश बरामद गरेको छ । प्रहरीले चरेससहित चार जनालाई समेत नियन्त्रणमा लिएको छ ।
क्षेत्रीय अनुसन्धान समुहका प्रहरी नायव उपरीक्षक राज कुमार बैदवारको नेतृत्वमा रहेको टोलीले विशेष सुराकीको आधारमा मोरङको बिराटनगर ७ बम्हपुरा र सुनसरीको भोक्राहा ५ बाट उक्त चरेश बरामद गरेको हो ।
प्रहरीले मोरङको बिराटनगर ७ बम्हपुराबाट बिराटनगर १४ बस्ने ३१ वर्षिय नविन कुमार चौधरी र टंकीसिनवारी ९ बस्ने ३६ वर्षिय उमेश कुमार सरदारलाई सात किलोग्राम चरेससहित बुधबार साँझ पक्राउ गरेको थियो । उनीहरु सवार को १२ प २४०६ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा सो परिमाणको चरेस बरामद भएपछि उनीहरुसँग गरिएको प्रारम्भीक अनुसन्धानका आधारमा विहीबार सुनसरीको भोक्राहा ५ बाट थप दुईजना पक्राउ गरिएको हो ।
आज पक्राउ पर्नेमा सप्तरी अर्नामा ५ का २४ वर्षिय अमरजीत कुमार यादव र सोही स्थान बस्ने २७ वर्षिय कपिलेश्वर साह रहेका छन् । उनीहरुले स ४ प ६३८ नम्वरको मोटरसाइकलमा झुण्ड्याएर बिस लिटरको ग्यालेनभित्र लुकाई अठार किलो चारसय ग्राम चरेस सप्तरीबाट इटहरी ल्याउँदै थिए। पक्राउ परेका चारैजनासँग थप सोधपुछ र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comments