कखराको प्रोमो र व्यानर सार्वजनिक





२८ असोज, दमक ।
'द्वन्दहिन शिक्षा आजको आवश्यकता' भन्ने नाराका साथ निर्माण गरिएको चलचित्र कखराको पहिलोपल्ट झापाको दमकमा मङ्गलबार प्रोमोका साथै पोस्टर सार्वजनिक गरिएको छ ।
दमकस्थित पाथिभरा होटलमा झापाली पत्रकारहरुमाझ चलचित्रको प्रोमो र पोस्टर एकसाथ सार्वजनिक गरिएको हो । चलचित्रको विषय छनोट एकदमै सकारात्मक रहेको र प्रोमो राम्रो रहेकोले सिङ्गो चलचित्र पनि राम्रो बनेकोमा आफूहरु आसावादी रहेको उपस्थित पत्रकारहरुले बताएका छन् । नेपालको सिंगो शिक्षा नीतिमा परिवर्तनको आवश्यकता रहेको र यसका नीति परिवर्तनका लागि सबैले पहल गर्नुपर्नेमा पनि उनीहरुको जोड् रहेको थियो । चलचित्रको पोस्टर पनि राम्रो रहेको उनीहरुले बताए ।







गर्बु फिल्मस् प्रा.लि.को व्यानरमा निर्माण गरिएको उक्त चलचित्रलाई विभिन्न मिडियाका पत्रकार र शिक्षा क्षेत्रका प्रा. डा. तथा अनुसन्धानकर्ताहरुको विश्लेषणसहित शिक्षा क्षेत्रमा भए गरेका कार्य तथा कमीकमजोरीलाई कसरी सुधार तथा परिमार्जन गरी बालबालिकाको सही भविष्य र सफल व्यक्तित्व निर्माण तथा उत्पादन गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर डकुमेन्ट्री निर्माण गरिएको निर्देशक डिकेश लामाले जानकारी गराए । कार्यक्रममा चलचित्रका निर्माता विनोद लामा र द्वन्द निर्देशक अर्का विनोद लामाको उपस्थिति रहेको थियो ।
करिब एक घन्टा २० मिनेट लामो डकुमेन्ट्री नेपालका अधिकांश विद्यालयहरुमा पुगेर प्रदर्शन गर्ने कार्यक्रम रहेको र त्यसका लागि राष्ट्रिय दैनिक, रेडियो र टेलिभिजनका विभिन्न स्थान र क्षेत्रका संचारकर्मीहरुको एक सहयोग समिति समेत गठन भइसकेको निर्माण पक्षको भनाई थियो ।
चलचित्रमा राजेश हमाल, सौगात विष्ट, भुपेन चन्द, सौजन्य सुब्बा, गजित विष्ट, श्रीकृष्ण न्यौपानेलगायत अन्य कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

- किसोर श्रेष्ठ




Comments