सानो उमेरका टेलिभिजन सञ्चालकको सफलताका कथा





नरेन्द्र बस्नेत।
नेपाली मिडिया क्षेत्रमा पछिल्लो पटक युवायुवतिको आकर्षण दिनप्रतिदिन बढ्दो छ । कतिपय यस क्षेत्रमा रहरले आएका छन् त कतिपय अध्यायन गरेर सुझबुझका साथ आएका छन् । सुझबुझका साथ आएकाहरु यस क्षेत्रमा टिकेका छन् र सफल पनि छन् । यस्तै सुझबुझका साथ मिडियामा आएर पूर्वाञ्चलमा नै पहिलोपटक एकल लगानी र सबैभन्दा सानो उमेरमा टेलिभिजनको प्रबन्ध निर्देशक बनेका युवा ब्यबसायी हुन् समिर कार्की ।
सुनसरीको इटहरीबाट प्रसारण भइरहेको एरिना टेलिभिजनको प्रबन्ध निर्देशक कार्कीले २०६८ सालमा एरिना टेलिभिजन दर्ता गर्दा उनको उमेर मात्र १९ बर्ष थियो । शुरुमा टेलिभिजन दर्ता गर्छु भन्दा उनलाई धेरैले जिस्काए पनि । तर पछि उनले त्यो पूरा गरेर पनि देखाइदिए । काठमाण्डौको ओस्कार फिल्म कलेजबाट बिएफएस गरेका कार्की हाल टेलिभिजनका अलावा सत्यकथामा आधारित क्राइम पेट्रोलको निर्माणमा समेत ब्यस्त रहेका छन् । उनले टेलिभिजनमार्फत हाल ३ दर्जन कर्मचारीलाई रोजगारको बाताबरण समेत सिर्जना गरेका छन्।



बि.सं. २०४६ सालमा भोजपुरको बास्तिम गाबिस ७ मा मातापिता बद्री बहादुर र देबीमाया कार्कीको कोखबाट जन्मिएका कार्कीले मोरङको पथरीस्थित एभरेष्ट बोर्डिङ स्कुलबाट प्रबेशिका परीक्षा २०६३ सालमा उत्तीर्ण गरेका थिए । मिडियामा सौखिन उनले शुरुमा रेडियोको आरजे बन्ने लक्ष्यका साथ थुप्रै तालिम पनि लिए तर त्यसमा असफल भएपछि उनी टेलिभिजनमा आफ्नो करिअर निर्माणमा लागेका हुन्।
पूर्वाञ्चलमा सबैभन्दा सानो उमेरमा टेलिभिजन सञ्चालकको पगरी पाएका कार्की मिडियालाई रमाइलो र चाखको बिषय मान्छन् । उनी भन्छन मिडियामा जे छ, त्यो अरुमा हुन सक्दैन र छैन पनि । एरिना टेलिभिजनलाई राष्ट्रिय टेलिभिजनका रुपमा स्थापित गर्ने लक्ष्य लिएका कार्कीले नेपाली मिडियामा अध्ययनको कमी भएको देख्छन् । उनी भन्छन्, 'मिडियामा अध्ययन जरुरी छ ।'





Comments