विभिन्न घटनामा एक प्रनानिसहित चारको मृत्यु




८ कार्तिक, दमक।
पूर्वका विभिन्न ठाउँमा शुक्रबार भएका घटनामा एक प्रहरी नायव निरीक्षकसहित चार जनाको मृत्यु भएको छ ।

सप्तरीको औरही घर भएका एक प्रहरी नायव निरीक्षकको झिलिमिली बत्ती जोड्नेक्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
अंचल प्रहरी कार्यालय धरानमा कार्यरत औरही ५ निवासी प्रहरी नायव निरीक्षक बलराम मण्डलको आफ्नै घरमा झिलिमिली बत्ती जोड्नेक्रममा करेन्ट लागेको थियो । साँझ साढे ६ बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि सगरमाथा अंचल अस्पताल लैजानेक्रममा बाटैमा उनको मृत्यु भएको थियो ।


यता झापाको शरणामती २ बिरिङ खोलामा शुक्रबार एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
बिरिङ खोलाको किनारमा झापा राजगढ ४ बस्ने ७० वर्षिय बडका हेमरनको शव फेला परेको हो । उनको शव अपरान्ह ३ बजे खोलाको किनारमा भेट्टिएको थियो ।
घटना सम्वन्धमा अनुसन्धान शुरू गरिएको इलाका प्रहरी कार्यालय राजगढले जनाएको छ ।


त्यसैगरी मोरङको सिजुवा बजारमा मदिरा सेवनगरी होहल्ला गर्दै हिँडेको आरोपमा पक्राउ परेका एक पुरुषको हिजो साँझ इलाका प्रहरी कार्यालय सिजुवामा मृत्यु भएको छ ।
अत्याधिक मदिरा सेवन गरेर बजारमा हो-हल्ला गर्दै हिँडेको अवस्थामा प्रहरीले पक्राउ गरेका सिजुवा ३ बस्ने बर्ष ६० को मधु ताजपुरियाको कार्यालयको हिरासत कोठामा मृत्यु भएको हो।
साँझ साढे ६ बजे अचानक हिरासत कोठाको ढोकामा बेहोस भएपछि उनलाई उपचारका लागि कोशी अंचल अस्पताल ल्याइएको थियो । उनको सोही अस्पतालमा उपचारका क्रममा सांझ ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इनरुवा ५ मा शुक्रबार साँझ करिब ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ४ ख ३१८ नम्बरको बसले इनरुवा ३ बस्ने पैदलयात्री ३२ वर्षिय बिनोद गौतमलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । बस तथा चालकलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।



Comments