भुटान सुरुङ्गा गोल्डकपको सेमिफाइनलमा




३१ असोज, सुरुङ्गा।
सुरुङ्गामा जारी सुरुङ्गा गोल्ड कपको पहिलो चरणको अन्तिम खेलमा फेन्स क्लब, भुटानले चर्च ब्वाइज काठमाडौंलाई ट्राइब्रेकरमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल अवधिभरमा दुवै पाहुना टोलीले समान १-१ गोल गरेपछि अम्पायर श्याम दनुवारले खेलको निर्णय सोझै पेनाल्टी सुट आउटबाट गराइदिएका थिए । सुट आउटमा ३-२ गोल अन्तरले फेन्स क्लब विजयी बनेको हो । फेन्स क्लबले सेमिफाइनलमा झापा-११ को टिमसँग प्रतिष्पर्धा गर्नेछ ।




खेल अवधिमा पहिलो हाफको २० औं मिनेटमा विपक्षी टोलीले आत्मघाती गोल गरेपछि चर्च ब्वाइजले अग्रता कायम गरेको थियो । खेलको दोस्रो हाफको ६ मिनेटमा भुटानको तर्फबाट जर्सी नम्बर १७ का खेलाडी धिरज तामाङले टिम क्याप्टेन युगल किशोर राईको सुन्दर पासको सदुपयोग गर्दै गोल गरेपछि खेल बराबरीको स्थितिमा पुगेको थियो । खेलको पहिलो हाफमा आक्रामक बनेको चर्च ब्वाइज दोस्रो हाफमा भने रक्षात्मक खेल खेल्न बाध्य भएको थियो । खेल अवधिभर दुवै टिमका आधा दर्जन बढी प्रहारहरु खेर गएका थिए ।

शनिबार हुने पहिलो सेमिफाइनल खेल उर्लाबारी स्पोर्टिङ क्लब मोरङ र कञ्चनजंघा फुटबल क्लब सिलगढी भारतबीच हुने सुरुंगा जेसीजका खेल संयोजक देवेन्द्र रिसालले बताए । असोज २८ गतेबाट स्थानीय कनकाई उच्च माविमा भइरहेको प्रतियोगिताको फाइनल खेलको कार्तिक ४ गते हुनेछ।




Comments