सकियो 'तुम्याहाङ' को छायाङ्कन





सन्देश सुब्बा इङ्वा, पाँचथर ।
लिम्बू जातिमा रहेको परम्परागत न्यायिक प्रणाली तुम्याहाङ प्रथामा आधारित लघु चलचित्र 'तुम्याहाङ' को छायाङ्कन सकिएको छ । लिम्बू जातिको बाहुल्यता रहेको पाँचथरको सिवा र नवमीडाडाँमा चलचित्रको छायाङ्कन गरिएको निर्देशक सागर केरुङ्ले बताए ।
कला र संस्कृतिको धनि जातिको रुपमा चिनिने लिम्बू समुदायमा तुम्याहाङ प्रथालाई सर्वोच्च न्यायिक प्रणालीको रुपमा लिइन्छ । लिम्बू समुदायमा हुने विभिन्न किसिमका झै-झगडा, वादविवाद लगायतका मुद्दा मामिलाको छिनोफानो र मेलमिलाप गराउने काम तुम्याहाङ प्रथाले गर्दछ । अदालतीय न्यायिक प्रणालीको विकास भइनसकेको समयमा सम्पूर्ण किसिमका मुद्दा मामिलाहरुको फैसला तुम्याहाङ प्रथामार्फत हुने गरेको लिम्बू जातिका विज्ञहरु बताउँछन् ।



तुम्याहाङ प्रथा निष्पक्ष र विभेदरहित हुन्थ्यो । तुम्याहाङहरुले फैसला गरिसकेपछि पुनः उजुरी गर्ने निकाय कतै हुन्नथ्यो । तुम्याहाङहरुको फैसलालाई नमान्ने व्यक्ति समाजबाट बहिष्कृत हुन्थ्यो । हाल पनि कतै कतै यो प्रथा प्रचलनमा रहेको छ । आधुनिक न्यायिक प्रणालीको विकाससँगै संकटमा पर्दै गएको लिम्बू जातिको परम्परागत न्यायिक प्रणाली तुम्याहाङ प्रथालाई भावी पुस्ताले श्रब्य दृष्यमा हेर्न सकुन् भन्ने उदेश्यले चलचित्र निर्माण गरिएको लेखक-निर्देशक सागर केरुङले बताए ।
इना म्यूजिक एण्ड फिल्मस् प्रा.लि.को ब्यानरमा सेनमुन्धुम गुरु हर्कप्रसाद केरुङको निर्माण र कमल कुमार नेम्बाङको सह निर्माणमा निर्मित चलचित्रमा जगत रानामगरको छायाङ्कन, डि.आर.हाङ्सरुम्बा र सन्देश सुब्बाको सह निर्देशन रहेको छ ।
यो वर्षभरीमा प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको चलचित्रमा हरिलाल तुम्रोक, इन्द्र तुम्बापो, मधु केरुङ, हिमालराज कन्दङ्वा, विष्णु तुम्रोक, संगीता तुम्बापो, भावना तुम्रोक र वविता चेम्जोङ लगायत कलाकारहरुले अभिनय गरेका छन् । चलचित्र करीब २९ मिनेटको हुने निर्माण युनिटले बताएको छ ।




Comments