पत्रकारमाथि भएको आक्रमणको विभिन्न संघसंस्थाद्वारा निन्दा र भर्त्सना


३ कार्तिक, दमक।
झापा विर्तामोडबाट प्रकाशित हुने जन आन्दोलन साप्ताहिककी कार्यकारी सम्पादक तथा अर्जुनधारा दैनिककी संवाददाता रेजिना गौतम रोदन र नेपाल पत्रकर महासंघ झापाका कार्यालय सचिव खेम बरालमाथि भएको सांघातिक आक्रमणको झापामा रहेका सञ्चारसम्वद्ध विभिन्न संघसंस्थाले निन्दा तथा भर्त्सना गरेका छन् ।
गौतम र बरालमाथि भएको आक्रमणको नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, नेपाल प्रेस युनियन, फोनिज, क्रान्तिकारी पत्रकार संघ, क्रातिकारी पत्रकार महासंघ, नारी सञ्चार गृह र क्रियाशील पत्रकार समूहले आज एक संयुक्त विज्ञप्ति प्रकाशित गरी निन्दा र भर्त्सना गरेका हुन् ।


पत्रकार गौतम र बलारमाथि गएराति ९ बजेतिर आक्रमण भएको हो । कार्यालयको काम सकेर डेरातर्फ आउँदैगरेका उनीहरुमाथि धारिलो हतियार प्रहार भएको थियो । आक्रमणबाट गम्भीर घाइते दुवैको मनमोहन मेमोरियल अस्पताल विर्तामोडमा उपचार भइरहेको छ ।


घाइते रोदनको टाउकोमा गम्भीर चोट लागेको छ । उनको टाउकोमा १६ टाँका गरिएको छ । त्यस्तै बरालको पनि टाउकोमै चोट लागेको छ । उनको टाउकोमा नौ टांका लगाइएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
करिब १२/१३ जनाको समूहले एक्कासी आक्रमण गरेको पीडितहरुले बताएका छन् । उनलाई बिर्तामोडस्थित शनिश्चरे रोडको डिभाइनर फनिर्चर उद्योग नजिकै हतियारधारी समूहले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
पत्रकारलाई आक्रमण गरेका आक्रमणकारीहरुले स्थानीय तीनजालाई समेत आक्रमण गरेको प्रहरीले बताएको छ ।
यसैबीच आक्रमणमा संलग्न भएको आशंकामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विर्तामोड नगरपालिका ६ का अमन सुब्बा, दुर्गा धिमाल र शनिश्चरे ९ का अनिश सुब्बा रहेका छन् ।
उनीहरुलाई मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ गरिएको थियो । घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सञ्जयवहादुर राउतले जानकारी दिए ।








Comments