प्रेस कार्ड, बन्दैछ लाइसेन्स





तेज बन विश्वासी
१४ कार्तिक, सुनसरी ।
टन्टलापुर घाम लागेको छ, सडकमा सवारीको चाप पनि उत्तिकै छ । त्यसैको एक छेउमा सवारी चेकिङका लागि ट्राफिक प्रहरीहरु सिटी बजाउँदै पालैपालो सवारीहरु चेकजाँच गर्दै आवश्यक कागजात माग्दै प्रक्रिया पुर्‍याएर छाड्दै गरेका हुन्छन्।
त्यतिकैमा अलि परबाट एक मोटरसाइकल आउँछ, ट्राफिक प्रहरीले लाइसेन्स माग्छन् र मोटरसाइकल चालक 'म प्रेसको हुँ' भन्दै पर्सबाट कार्ड देखाउँछन्, सवारी चेकिङका लागि बसेका ती ट्राफिक प्रहरी उसको मुखमा एकछिन हेर्छन् अनि 'जानु' भन्दिन्छन् ।
माथिको यो दृष्य शुक्रवार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको इटहरीस्थित बुढी पुल आसपास ट्राफिक प्रहरीले गरेको चेकिङको हो ।


मुलुकमा गणतन्त्र स्थापनापछि सबैभन्दा बढी विकसित भएको सञ्चार माध्यमलाई मान्न सकिन्छ तर त्यही सञ्चार माध्यममा कार्यरत केही हाकिम तथा कर्मचारीको मिलेमतोमा गलत व्यक्तिको हातमा प्रेसको परिचयपत्र पुग्दा आज भोलि सो परिचय पत्र सवारी चालक अनुमति पत्रसरह बन्न पुगेको छ।
बढ्दो दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले गरेको सवारी चेकिङका क्रममा केहीले आफ्नै मोटरसाइकलमा प्रेस लेखेर लाइसेन्सको सट्टा आफ्नो प्रेसको परिचयपत्र देखाउने गरेका कारण प्रेसका परिचय पत्रहरुको दुरुपयोग बढ्दै गएको पाइएको छ ।
इटहरीमा ट्राफिकले गरेको १ घण्टा बढी सवारी चेकिङको क्रममा आफ्नो सवारी अनुमती पत्र देखाउनु पर्ने ठाउँमा लगभग १३ जना मोटर साइकल चालकहरुले प्रेसको कार्ड देखाएर उम्किएपछि आजभोलि प्रेसको परिचयपत्रले लाइसेन्सको काम गर्ने गरेको देखिएको थियो।
शंका लागेर सोधपुछ गरौं त भोली 'पत्रकारमाथि दुर्ब्यवहार' भनेर लेख्ने पो हो कि भन्ने डरले ट्राफिक प्रहरीले उनीहरुलाई सम्मानपूर्वक गन्तब्यतर्फ बढ्न अनुमति दिएका थिए ।
यस विषयमा पूर्वाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख एसपी नरबहादुर केसीले पूर्वमा प्रेसको परिचयपत्र दुरुपयोग हुने गरेको स्वीकार्दै सञ्चारकर्मी हुँ भन्दैमा नियम मिच्न नपाइने बताए ।
प्रेस जस्तो राष्ट्रको चौथो अंग मानिएको संवेदनशील क्षेत्रमा कार्यरत केही फटाहा प्रवृत्ति भएका ब्यक्तिहरुका कारण प्रेसको परिचयपत्र दुरुपयोग हुने गरेको बताउँदै एसपी केसीले आफ्नो निगरानीमा चेकिङ गरेको बेला पनि थुप्रैले लाइसेन्सको सट्टा प्रेसको परिचय पत्र देखाउने गरेको तर आफुले नमानेको र एक पटक चेतावनी दिँदै छाड्ने गरेको बताए ।




Comments