पाँचथरमा लिम्बुवानको समायोजन प्रक्रिया टुंगियो




सन्देश सुब्बा इङ्वा, पाँचथर ।
संघीय लिम्बुवान पार्टी नेपालको पाँचथर जिल्ला समायोजन प्रक्रिया टुंगिएको छ । पूर्व मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद र लिम्बुवान राज्य परिषदबीच नेतृत्वमा विवाद बढेपछि अड्किएको जिल्ला समायोजन प्रक्रिया पटक पटकको प्रयासपछि बुधबार टुंगोमा पुगेको हो ।
गएको साउन २० गते धनकुटाको भेडेटारमा पाँच लिम्बुवानजन्य पार्टीबीचको एकीकरणपछि विभिन्न जिल्लाहरुको समायोजनको जिम्मा पाएका केन्द्रीय उपाध्यक्ष रामभक्त कुरुम्बाङको उपस्थितिमा सुरेन्द्रप्रकाश जवेगुलाई अध्यक्ष बनाई जिल्ला समायोजन प्रक्रिया सम्पन्न गरिएको हो । जवेगु पूर्व परिषदका जिल्ला अध्यक्ष हुन् ।


यता पूर्व मञ्च सम्बद्धका जिल्ला अध्यक्ष लावाहाङ चेम्जोङलाई केन्द्रीय सचिवालय सदस्य साथै जिल्ला इन्चार्ज बनाइएको छ ।
पार्टीको जिल्ला उपाध्यक्षहरुमा राम केरुङ, जकेन्द्र लाओती, आइत सम्बाहाम्फे र सुभराज नेम्बाङ रहेका छन् भने सचिवमा सागर केरुङ रहेका छन् । जिल्ला कार्य समिति करीब एक सय २० सदस्यीय हुने बताइएको छ ।
पार्टी समायोजन प्रक्रिया पूरा भएकोले अब जिल्लाका जनवर्गिय संगठनहरुको समेत चाँडै समायोजन गरिने जिल्ला इन्चार्ज लावाहाङ चेम्जोङले बताए ।




Comments