मन्दिर क्षेत्रको जग्गा अतिक्रमण






सन्देश सुब्बा इङ्वा, पाँचथर ।
१६ औं राष्ट्रिय विभूति तथा किरात समाज सुधारक महागुरु फाल्गुनन्दको तपोभूमिको रुपमा परचित पाँचथरको सिलौटी मन्दिर क्षेत्रको जग्गा अतिक्रमण भएको छ ।
पाँचथर सदरमुकाम फिदिम नगरपालिका-९ मा रहेको उक्त मन्दिर क्षेत्रको साङसेन गुम्बा शिवालय सत्यहाङ सिलौटीको नाममा रहेको तीन सय रोपनी जग्गामध्ये २७ रोपनी जग्गा २०५३ सालदेखि नेपाल टेलिकमले अतिक्रमण गरिरहेको हो ।
फाल्गुनन्दको समाधिस्थलसमेत रहेको स्थानमा टेलिकमले टावर स्थापना गरी सेना राखेर तारबेरा गर्दा मन्दिर तथा समाधिस्थलको दर्शन गर्न आउने भक्तजनलाई सास्ती हुने गरेको मन्दिरका प्रमुख गुरु नाहेमहाङले बताए । बिना अनुमति जबरजस्ती स्थापना गरिएको टावर, तारबेरा र सेना हटाउन पटक पटक आग्रह गर्दा पनि सुनुवाई नभएको किरात धर्म संरक्षण समितीका कोषाध्यक्ष तिलबिक्रम नेम्बाङ्ले बताए।
जिल्लाकै प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको क्षेत्रमा पुनः एनसेलको टावर राखी मन्दिर तथा समाधिस्थल क्षेत्रको जग्गा अतिक्रम गर्ने क्रम बढेपछि मन्दिर समिति आक्रोशित बनेको छ ।




Comments