दमकमा साख्वाको शालिक अनावरण, संविधानमा नेपाल सम्वत राख्न माग

-->


७ कार्तिक, दमक।
झापाको दमकमा नेपाल सम्वतका प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वाको शालिक अनावरण कार्यक्रमका सहभागीहरुले अव बन्ने संविधानमा नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा लेखन गर्न माग गरेका छन् ।
शंखधर साख्वाको शालिक निर्माण समितिले दमक ११ स्थित शंखधर साख्वा चोकमा आयोजना गरेको शालिक अनावरण कार्यक्रमका सहभागीहरुले तत्कालिन समयमा काठमाण्डौको पाटनका गरीव नेपाली जनताको ऋण मोचन गरिदिएका दानवीर साख्वाले चलाएको नेपाल सम्वतलाई मुलुककै सम्वतका रुपमा लेखन गर्न माग गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले शालिक अनावरणपछि बोल्दै राष्ट्रिय विभूति साख्वा कुनै जातिको मात्र नभएर देशकै विभूति भएको हुँदा वहाँले चलाएको सम्वत लागु गर्न राजनीतिक दलहरुले आवाज उठाउन अनुरोध गरे।

-->


अतिथि नेवा देय दवुका केन्द्रीय सदस्य पूर्णकृष्ण श्रेष्ठले नेपाल सम्वतका प्रवर्तक साख्वाले चलाएको नेपाल सम्वत संविधानमा लेख्न माग गरे। राष्ट्रिय विभूति साख्वाको संरक्षणमा राजनीतिक दलहरुले वेवास्ता गरेको उनले आरोप लगाए। उनले साख्वाको स्मृतिमा संग्रहालय बनाउनसमेत माग गरे ।
समितिका अध्यक्ष नरेश कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी नगरपालिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले राष्ट्रिय विभूति साख्वाको दस्तावेजहरु संरक्षण सबै जाति धर्म, भाषाभाषीले गर्नु पर्ने बताए।
-->

राप्रपा नेपालका सह महामन्त्री राम थापा, राप्रपा दमक नगर अध्यक्ष प्रविण चाम्लिङ लगायतले साख्वाको योगदानलाई संरक्षण गर्न पहल गर्ने बताएका थिए ।
कार्यक्रममा समितिकी उपाध्यक्ष बसन्तलक्ष्मी उदासले स्वागत मन्तब्य राखेकी थिइन् ।
औपचारिक कार्यक्रमअघि नेवार समुदायको झाँकी, लाखे नाच सहितको र्‍यालीले बजारको बिभिन्न स्थानको परिक्रमा गरेको थियो ।
मेची अञ्चलमा नै साख्वाको यो पहिलो शालिक भएको समितिका अध्यक्ष श्रेष्ठले बताए।
४ लाख ७७ हजार रुपैयाँको लागतमा शालिक निर्माण सम्पन्न गरिएको थियो ।
शालिकको ४ बर्षअघि दमक नगरपालिकाका तत्कालिन कार्यकारी अधिकृत पशुपति खतिवडाले शिलान्यास गरेका थिए ।
शालिक निर्माणका लागि दमक नगरपालिकाले ५० हजार रुपैयाँ, दमक २ का जय कुमार श्रेष्ठको परिवारले आफ्ना बुबा इन्द्रबहादुर श्रेष्ठको स्मृतिमा एक लाख रुपैयाँ सहयोग रहेको निर्माण समितिले जनाएको छ ।

-->

Comments