पाँचवटा पहेंलो कार्ड खाँदै कञ्चनजंघा सिलिगुढी सुरुङ्गा गोल्डकपको सेमिफाइनलमा





३० असोज, सुरुङ्गा।
झापाको सुरुङ्गामा सञ्चालित सुरुङ्गा गोल्ड कप दोस्रो संस्करणमा पाहुना टोली कञ्चनजंघा स्पोर्टिङ क्लब, सिलिगुढीले प्रतियोगिताको अन्तीम चारमा आफूलाई उभ्याएको छ । इलेभेन एरोज, दुहबी विरुद्ध २-० गोल अन्तरले कञ्चनजंघा स्पोर्टिङ क्लबले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको दुवै गोल विजेता टोलीका जर्सी नम्बर १३ का खेलाडी विदुर क्षेत्रीले गरेका थिए । उनले खेलको पहिलो हाफको छैठौं र ३६ औं मिनेटमा गोल गरेका थिए ।




खेल अवधिभर दुवै टिमका खेलाडीहरुलाई ८ वटा पहेंलो कार्ड दिइएको थियो । विजयी हुने कञ्चनजंघा स्पोर्टिङ क्लबका खेलाडीले सर्वाधिक ५ वटा पहेंलो कार्ड पाएपछि सेमफाइनल खेलमा उसलाई कठिन हुने देखिएको छ । खेलमा २ गोल गर्ने क्षेत्री म्यान अफ द म्याच घोषित भएका थिए ।
शुक्रबार हुने पहिलो चरणको अन्तिम खेल चर्च ब्वाइज काठमाडौं र बीआरसी फेन्स क्लब बीच हुने आयोजक समितिका खेल संयोजक देवेन्द्र रिसालले बताए ।
यसै बीच प्रतियोगितामा सहभागी खेलाडीहरुलाई एसिया लिङ्क सर्भिसेज प्रालिले निःशुल्क खेल जर्सी प्रदान गरेको छ । कम्पनीका तर्फबाट झापा प्रतिनिधि राम भट्टराईले खेल मुल समारोह समितिका दिलकुमार कार्कीलाई २२ थान खेल जर्सी प्रदान गरेका हुन् ।


Comments