झापामा वर्षमा बलात्कारका ६८ घटना

आदिवासी, दलित र जनजाति बढी पीडित

-->

deadbody of asmita rajbanshi
विष्णु पौडेल, दमक।
झापामा बलात्कार र यौनजन्य हिंसाका धेरैजसो पीडित आदिबासी, दलित र जनजाति समुदायका महिला, किशोरी र बालिका हुने गरेका तथ्य भेटिएको छ ।
अभिभावकको प्रत्यक्ष संरक्षणमा नरहेका र आर्थिक रुपमा कमजोर परिवारकाहरु बढि पिडित भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको महिला तथा बालबालिका सेलकी सहायक निरीक्षक मिलनकुमारी राईका अनुसार गत आर्थिक वर्ष २०७०/०७१ मा परेका बलात्कार तथा बलात्कार प्रयासका ६८ घटनामध्ये ५० वटामा आदिवासी, दलित र जनजाति समुदायका महिला, किशोरी र बालबालिका पीडित थिए ।
पीडितहरु चार बर्षे बालिकादेखि ६४ बर्षे वृद्धासम्म छन् । चालू आ.ब.को सुरुका महिनामा पनि झापामा बलात्कारबाट आदिवासी, जनजाति र दलित समुदायका महिला बढी पीडित भएको पाइएको छ । -->

घरभित्र अभिभावक बीचको बेमेलले पनि छोरीहरुलाई असुरक्षित बनाएको अधिवक्ता उमा कार्की बताउँछिन् । 'आर्थिक र चेतनाको दृष्टिबाट समेत कमजोर नै असुरक्षित हुँदोरहेछ,' उनले भनिन् । जिल्ला प्रहरीमा गत आर्थिक वर्ष बलात्कारका ४६ र बलात्कार प्रयासका २२ वटा मुद्दा दर्ता भएका थिए । यसैगरी आ.ब. २०६९/०७० मा बलात्कारका ४१ र बलात्कार प्रयासका १८ गरी यौनजन्य हिंसा सम्बन्धीका ५९ मुद्दा दर्ता भएका थिए । आ.ब. २०६८/०६९मा बलात्कारका ३९ र बलात्कार प्रयासका ११ समेत जम्मा ५० मुद्दा दर्ता भएका थिए ।
आदिवासी जनजाति महिलाहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकी राष्ट्रिय आदिवासी जनजाति महिला सञ्जाल पूर्वाञ्चलकी संयोजक सुमित्रा वाङ्देल बलात्कार तथा यौनजन्य हिंसाका घट्ना पुरुष प्रधान समाजको विकृत मानसिकताको परिणाम भएको बताउँछिन् । वाङ्देल भन्छिन्, 'अपराध हुनुका पछाडि जाति वा समुदायलाई नै त किटान गर्न सकिन्नँ तथापि डाटा हेर्दा त्यस्तो देखिन्छ ।' उनले शिक्षा वा चेतनाको कमी र मादक पदार्थ सेवनका कारण आदिवासी, दलित समुदाय हिंसाको सिकार भइरहेका अनुमान गर्न सकिने बताइन् ।
-->

यसरी भइरहेका छन् पीडित
झापाको हल्दीवारी गाविस ७ की एक जना दस वर्षीया सन्थाल बालिका गएको असोज १४ र १६ गते हाडनाता भित्रैबाट बलात्कृत भइन् । ४० वर्षीय भैरव सोरेनबाट ती बालिका पीडित भएकी जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोरेन कात्तिक १ मा मात्रै पक्राउ परेका छन् ।
२० महिनाअघि सोरेनकी श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएकी छन् । पीडितको उजुरीका आधारमा सोरेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी विश्वमणि पोख्रेलले जानकारी दिए ।
टेलिभिजन हेर्ने क्रममा ती बालिकामाथि बलात्कार गरेको पीडितकी दिदीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
गएको जेठ ३० गते अपरान्ह ४ बजेतिर भाइलाई बिस्कुट किनिदिन घरबाट उत्तर पसलतिर लागेकी झापा जुरोपानी ९ की १२ बर्षे अस्मिता राजवंशी दुई दिनसम्म फर्किनन् । तेस्रो दिन सडन लागेको नग्न अवस्थाको उनको लास घरबाट करिब ५० मिटर दक्षिण झाडीमा भेटियो । प्रहरीले बलात्कारपछि ज्यान लिई अन्यत्रबाट लास ल्याएर त्यहाँ राखेको अनुसन्धानबाट खुलेको बतायो । घटनाका अभियुक्तहरु छिमेकी उमेश माझी (१९), राम माझी (२५), यादव विक (१६) र मिसा माझी (१८) पुर्पक्षमा थुनामा छन् ।
त्यसअघि गत जेठ ४ मा झापाको तोपगाछी ७ केरखामा एकजना १६ बर्षे किशोरी सामूहिक बलात्कारको शिकार भइन् । पीडकहरुको धम्की कारण उनले मुख खोलिनन् । तर आफन्तको घरमा बसेर स्कुल पढिरहेकी किशोरी निद्रामा चर्को स्वरमा चिच्याउन थालेपछि परिवार र छिमेकीलाई थाहा भयो । ४ दिनपछि उनले मुख खोलिन् । १७ देखि २५ वर्षसम्मका १३ पुरुषमध्ये पक्राउ परेका सुरेश ढकाल (२२) र विशाल गिरी (२०) अहिले पुर्पक्षको लागि थुनामा छन् । बाँकी ११ जना फरार छन् । किशोरीलाई रातको समयमा झुक्याई केटाहरु भएको एकान्त ठाँउमा पुर्‍याउने एक महिला भने तारेखमा छुटिन् ।

(बलात्कारपछि हत्या गरिएकी अस्मिता राजवंशीको फाइल फोटो)

Comments