प्रनानि नेम्बाङ उत्कृष्ट गीतकार




उर्लाबारी।
गीतकार बबिन्द्र नेम्बाङले 'गौतम बुद्ध जन्मे जहाँ त्यहीँ छ सगरमाथा.......' बोलको स्वदेश गीतबाट उत्कृष्ठ गीतकारको पुरस्कार पाएका छन् ।
चितवनको कालिका एफएमले आफ्नो बाह्रौँ वार्षिकोत्सवको अवसरमा आइतबार साँझ प्रदान गरेको दसौँ म्युजिक अवार्ड कार्यक्रममा गीतकार नेम्बाङसहित दुई दर्जनभन्दा बढी कलाकारलाई अवार्ड दिएर सम्मान गरेको हो ।
झापाको सुरुङ्गाका नेम्बाङले लेखेका धेरै गीतहरु चर्चामा छन् । इलाका प्रहरी कार्यालय लेटाङमा प्रहरी नायव निरीक्षकका रुपमा कार्यरत नेम्बाङको शब्द रहेको 'तिम्रो पाउजु बजेर थाहा पाए अरुले मलाई त कराए आफन्तहरुले.....' गायक डम्बर नेपालीले गाएको गीत धेरैले मन पराएका छन् भने अन्य गीतहरु पनि उतिकै मात्रामा चलेका छन् ।
नवगायकहरुलाई आफुले लेखेका गीतहरु गाउन अवसर दिने गीतकार नेम्बाङ प्रहरी पेशासँगै फुर्सदमा गीत लेखनमा पनि उत्तिकै सक्रिय रुपमा लागि परेका छन् । गीतकार नेम्बाङले फेशबुक मार्फत यो स्वदेश गीतलाई माया गरिदिनु हुने सम्पूर्ण श्रोताहरुमा आभार ब्यक्त गर्दै वरिष्ट संगीतकार मणिकमल क्षेत्री, गायक सुजन तिगेला लगायतलाई धन्यवाद दिएका छन् ।

यस वर्ष वरिष्ट चलचित्रकर्मी यादव खरेललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । एफएमका अध्यक्ष तथा संविधानसभाका सदस्य विक्रम पाण्डेले खरेललाई दोसल्ला ओढाएर लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरेका थिए । खरेलले १७ वटा गीती एल्बम निकालेका छन् भने करिब दर्जन नेपाली चलचित्रमा निर्देशन गरिसकेका छन् । उनी चलचित्र निर्माता संघका संस्थापकसमेत हुन् । सो अवसरमा चलचित्रकर्मी खरेलले कला क्षेत्रको विकासका लागि अवार्डले हौसला प्रदान गर्ने बताए।
यस्तै सवारी दुर्घटनामा निधन भएकी गायिका मञ्जु महतलाई मरणोपरान्त सम्मान प्रदान गरिएको छ ।
कार्यक्रममा लोकदोहोरीमा तीर्थ सापकोटा, स्थानीय कलाकारमा भुवन प्यासी, लोकदोहोरी शब्दतर्फ शिरिष देवकोटा, सङ्गीतमा राम्जी खाँड, महिला गायनमा मञ्जु पौडेल र पुरुषमा पशुपति शर्माले अवार्ड पाए ।
आधुनिकतर्फ सङ्गीतमा राजकुमार बगर, गायन महिलामा माण्डवी त्रिपाठी, पुरुषमा प्रमोद खरेल र गजलमा आनन्द कार्कीले अवार्ड हात पारे ।
पपतर्फ गायिका सञ्जना श्रेष्ठ, गायकमा कमल खत्री र सङ्गीतमा लोकेश गुरुङले अवार्ड पाए । चलचित्रको शब्दमा डा. कृष्णहरि बराल, सङ्गीतमा वसन्त सापकोटा, गायिकामा मिलन अमात्य, गायकमा शिव परियार तथा युगल गीतमा रजिना रिमाल र युवराज चौलागाईं लगायतले अवार्ड प्राप्त गरे । सो अवसरमा एफएमका अध्यक्ष पाण्डेले अझै समाजसेवामा सक्रिय हुने प्रतिबद्धता जनाउँदै सामाजिक काममा कसैले कन्जुस गर्न नहुने बताए ।


Comments