बाह्र बर्षसम्ममा पनि खानेपानीको योजना पूरा भएन




विष्णु सुब्बा,
२ कार्तिक, दमक।
झापा जिल्लाकै सबैभन्दा ठूलो खानेपानी योजना एक दशक बढी समय विते पनि अझैसम्म पूरा हुन सकेको छैन । दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्ने उद्देश्यले निर्माण शुरु भएको महारानीझोडा गाविसको खानेपानी योजना वाह्र वर्ष वितिसक्दासमेत अझै पूरा हुन नसकेको हो।
महारानीझोडा - ३ स्कुलचौनस्थित निर्माणाधिन खानेपानी समयमै पूरा हुन नसकेपछि स्थानिय वासिन्दाहरु शुद्ध पिउने पानी उपभोग गर्नबाट वञ्चित भएका छन् ।
एउटै योजनाले गाविसका धेरैजसो वासिन्दालाई सुविधा दिने उद्देश्यले २०५९ साल साउनदेखि सो खानेपानी योजनाको निर्माण शुरु गरिएको थियो । ४ लाख ५० हजार लिटर क्षमता भएको पानी ट्याङ्की निर्माण गर्ने लक्ष्य योजनाको छ । यतिका क्षमता भएको योजना यो नै पहिलो भएको जिल्ला खानेपानी डिभीजन कार्यालयको दावी छ । एक करोड ३३ लाख रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको योजनाको ४० प्रतिशतमात्र काम सम्पन्न भएको छ । विभिन्न चरणमा गरेर हालसम्म १ करोड ३ लाख रुपैयाँ खर्च भइसकेको उक्त खानेपानी योजनाका अध्यक्ष जगन्नाथ खनालले जानकारी दिए ।



योजनाको लक्ष्य अनुसार ३० लाख रुपैयाँ मात्र वाँकी रहँदा योजनाको ६० प्रतिशत काम वाँकी रहेको छ । समय बढ्दै गएपछि योजनाको लागत समेत पाँच गुणाले बढेर गएको अध्यक्ष खनालले वताए । पछिल्लो ट्याङ्की निर्माण गर्न मात्र १ करोड ५३ लाख बजेट विनियोजन भएको छ । पाँच वर्षअघिदेखि निर्माणको जिम्मा पाएको शिमराम कन्ट्रक्सन प्रालिका प्रवन्धक शिवराम सापकोटा वषौंदेखि सम्पर्कबिहीन भएको अध्यक्ष खनालले बताए ।
अध्यक्ष खनालले भने, 'निर्माण कम्पन्नीको हेलचेक्र्याईंका कारण निर्माणाधीन योजनाको काम प्रभावित हुन पुगेको छ ।' ट्याङ्कीको पिल्लर निर्माणको काम गरिरहेका स्थानिय पेटी ठेकेदार अरुण मण्डलले आफुले काम गरेको लाखौँ रुपैयाँ भुक्तनी समेत नगरी ठेकेदार सम्पर्क बाहिर रहेको गुनासो राखे । आफुले ठेकेदारमार्फत पाउनु पर्ने रकम लामो समयदेखि पाउन नसकेको मण्डलले बताए ।
निर्माणको जिम्मा पाएको प्रालिले काम नगरेका कारण नै विनियोजन भएको लाखौँ रुपैयाँ फ्रीज हुँदैआएको छ । ठेकेदारले काम नगरेकै कारण खानेपानीको निर्माण सम्पन्न हुने कुरामा शंका उठ्न थालेको छ । खानेपानी डिभिजन कार्यालयबाट समेत ठेक्का रद्द नगरेको समितिको आरोप छ । योजनाको सयम लम्बिदै गएपछि लागत वजेटको आकार समेत बढ्दै गएको छ ।
योजनावाट महारानीझोडा गाविसका १, ३, २, ५, ४, ६ तथा ८ र ९ वडाका केही माग गरी हजारौँ सर्वसाधारणलाई सेवा पुर्‍याउने लक्ष्य रहेको छ । लामो समयसम्म खानेपानीको योजना पूरा हुन नसकेकाले स्थानीय बासिन्दाहरू रुष्ट भएका छन् । स्थानीय फडिन्द्र दाहालले समयमै योजना नसक्दा शुद्ध खानेपानी पाउने आशामा रहेका स्थानीयहरू प्रभावित हुनुपरेको गुनासो राखे । उनी भन्छन्, 'समयमै योजना पुरा गर्न सम्बद्ध पक्षको ध्यान जानुपर्छ ।'


Comments