देउसी नाटक मञ्चन गर्दै कञ्चनजङ्घा



६ कार्तिक, पथरी।
सडक नाटकको क्षेत्रमा पूर्वमा ख्याति कमाएको मोरङको पथरी शनिश्चरेस्थित कञ्चनजङ्घा नाट्य समूहले तिहारको अवसरमा नाटकमार्फत देउसी खेल्ने नयाँ कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पछिल्लो समयमा समूहको निस्कृयता रहेको अवस्थामा त्यसका पुराना कलाकारहरुले यसलाई सक्रिय बनाउने योजनासहित देउसी नाटक 'संविधान' प्रदर्शन गरिरहेको यसका लेखक तथा निर्देशक भूपेन्द्र तिम्सिनाले बताए।
नाटकले नेपालमा संविधान बन्न मुस्किल परेको परिवेशलाई पर्गेल्दै माघ ८ भित्र सार्थक संविधान बन्नु पर्ने कुराको सन्देश दिने तिम्सिनाले उल्लेख गरे।
सो नाटक हिजो पथरीका ३ स्थानमा प्रदर्शन भएको छ भने आज पथरी चोकका साथै उर्लाबारी चोक र बरगाछी चोकमा प्रदर्शन भएको छ ।
पथरीशनिश्चरे र उर्लाबारीमा गरी ३ दिनमा १० स्थानमा नाटक प्रदर्शन गरिने समूहले जनाएको छ ।



नाटकमा भूपेन्द्र तिम्सिना, ज्योति अधिकारी, अभय पोखरेल, कमलराज भूजेल, मात्रिका पौडेल, कमला घिमिरे, हरेन्द्र खत्री, दिपेन्द्र दहाल, सृजना श्रेष्ठ, मनोज न्यौपाने, गोपाल काफ्ले, सुजन कटुवाल, सागर न्यौपाने, पंकज सापकोटालगायतको अभिनय रहेको छ ।
सो कार्यक्रमअन्तर्गत गीत, नृत्य र साहित्यिक प्रस्तुती समेत रहने छ । जसमा रोहित पराई र सुमन राईको साहित्यिक प्रस्तुती रहने छ ।
देउसीबाट उठेको रकमले कलाको क्षेत्रमा काम गर्ने समूहको योजना रहेको छ ।
०५७ सालमा स्थापित संस्थाले मेचीदेखि महकालीसम्मका करिव ३ सय स्थानमा नाटक प्रदर्शन गरिसकेको छ ।



Comments