२६ असोज, दमक।
फोहोरमैलाको उचित स्थानमा व्यवस्थापन गर्न नसक्दा झापाको गौरादह गाउँ विकास समितिको कार्यालयको प्राङ्गण डम्पिङ्ग साइटमा परिणत हुँदैगएको छ ।
गौरादह बजारबाट दिनहुँ संकलित फोहोरमैला गाविस भवन अगाडिको प्राङ्गणमा थुपार्ने गरिएकाले कार्यालयको प्राङ्गण डम्पिङ साइट बन्दैगएको हो । यसरी जथाभावी थुपारिएको फोहोरले गाविस कार्यालयमा आवतजावतमा नै समस्या हुन थालेको छ । नगर उन्मुख गाविसको बढ्दो जनघनत्वसँगै तिब्ररुपमा विस्तार हुँदै गरेको गौरादह बजार क्षेत्रको फोहोर फाल्ने उपयुक्त डम्पिङसाइटको हालसम्म पनि व्यवस्था हुन नसक्दा यस्तो समस्या झेल्नु परेको हो ।
पाँच कठ्ठा क्षेत्रफलभित्र गाविसको गाविसको पुरानो र नयाँ गरी दुईवटा भवन छन् भने खाली प्राङ्गण थोरै छ । भएको थोरै खाली ठाउँपनि फोहोरले ढाकिएपछि कार्यालय हाता अस्तव्यस्त देखिएको स्थानीय बासिन्दाहरु बताउँछन् ।
त्यस्तै गौरादहको गहना तथा पहिचानको रुपमा रहेको ९ विघा क्षेत्रफलमा फैलिएका पोखरी पनि बजार हाताभित्रै पर्दछन् । गाविस कार्यालय प्राङ्गणमा थुप्रिएको सो फोहोरले कार्यालय परिसर क्षेत्रसँग जोडिएको पोखरीलाई समेत क्रमशः प्रदुशित बनाउँदै गएपनि सम्बद्ध पक्षको ध्यान जान सकेको छैन ।
गौरादहको मासु बजार पनि सोही डम्पिङ साइट सँगसँगै रहेको छ । गाविस कार्यालयका घेराबारासँगै जोडिएको सो मासु बजार फोहोरमैला प्रदुषणको मारमा परेको र यसबाट मानवीय स्वास्थ्यमा ज्यादै ठूलो खेलवाड र लापरबाही भएको भन्दै चाँडोभन्दा चाँडो डम्पिङ साइटको व्यवस्था गरी त्यहाँबाट फोहोर उठाउनु पर्ने बताउँछन् स्थानीय औषधी व्यवसायी चक्रपाणि बराल । उनले राजनीतिक दल र गाविसको उदासिनताले यो समस्या विकराल बन्दै गएको बताए ।
स्थानीय समाजसेवी देवेन्द्र खड्काका अनुसार गाविसले दुरदर्शी योजना बनाएर जिम्मेवार बन्न नसकेकाले यो समस्या झन् बढ्दै गएको हो । 'सबै मिलेर अव्यवस्थित सहरीकरणलाई नियन्त्रण गर्नुपर्छ', खड्काले भने। गाविस सचिव दिलबहादुर भुजेलले भने डम्पिङ साइट खोजी गर्ने पटक पटकका प्रयास असफल भएकाले गाविस प्राङ्गणमै खाडल खनेर फोहोर थुपार्नु परेको बाध्यता भएका र यसको दीर्घकालिन समस्या समाधान गर्न आवश्यक पहल भयरहेको जानकारी दिए ।
साताको आइतबार र विहीवार लाग्दै आएको ग्रामीण क्षेत्रको सो बजारमा दैनिक ठुलो परिणाममा फोहोर मैला निस्कँदै आएपनि यसको उचित बन्दोवस्त नहुँदा समस्या बन्दै गएको छ ।
Comments
Post a Comment