'कान्छी' (कविता)





न्वारनमा राखिएको नाम हैन
आफू खुसी राखिएको नाम हैन
शुभ र अशुभको लागि राखिएको नाम पनि हैन
विना नाम भएपछि,
बोलाउन राखिदिएको नाम हो 'कान्छी' ।
चेतना भएर पनि चेतना विहीन ढुङ्गा जस्तो
नाम हो 'कान्छी' ।
पटक पटक बलत्कृत हुँदा नलेखिएको
रिपोर्ट हो 'कान्छी' ।
अनाथ आश्रममा नअटाउनुको पीडा
प्रकृतिका अस्वीकृत एउटा आर्तनाद हो 'कान्छी' ।



पुरानै परम्परा कान्छीहरुमात्र बलत्कृत हुन्छन्
कान्छाहरु कहिल्यै पनि बलत्कृत हुँदैनन् ।
नयाँ नेपालमा
प्रकृतिले पनि तिमीहरुलाई नै अन्याय गरिरहन्छ,
हरेक पटक,
थाहा छ त, तिमी असहाय छौ,
तिमी अशक्त छौ
तिमी बेसाहारा छौ
र फेरि किन छानोमा नझरेर
तिम्रै शिरमा झर्छ पानी ?
उडाउनु पर्थ्यो, झ्याल, ढोका, पाङ्,
तर तिमीसँगै तिम्रा बाँच्ने रहर उडाइदिन्छ ।
टन्टलापुर घाम तिमीलाई नै सेकिरहन्छ हरपल
सिङ्गो रात कालो भएर।
कान्छाहरुलाई झन्झन् उत्ताउलो बनाइरहन्छ ।
आऊ कान्छी, गणतन्त्रको दोस्रो प्रहर व्युँझदैछ
संविधानको ठेलीभित्र कतै पोतिएका हुनसक्छन्
तिम्रो जिन्दगी उमार्ने हरिया रङहरु ।

सावित्रा याक्खा
उर्लावारी ३ , मोरङ
(लेखक उर्लावारी गजल मञ्चको पूर्व अध्यक्ष हुन्।)


Comments