झापा-११ फाइनलमा




२ कार्तिक, सुरुङ्गा ।
सुरुङ्गामा सञ्चालित सुरुङ्गा गोल्ड कप दोस्रो संस्करणको अन्तिम सेमिफाइनलमा एन्फा कप विजयी टिम झापा-११ फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली विआरसी भुटानको चुनौतीलाई पेनाल्टीमार्फत पन्साउँदै झापा-११ ले कठिन जित हात पारेको हो ।
खेलको ७ औं मिनेटमा झापा ११ का तर्फबाट जर्सी नम्बर १० का विशाल राई (ए) ले नजिकैबाट गरेको प्रहार गोल किपरले सही अन्दाज लगाउन नसक्दा खेलको शुरुमै अग्रता लिएको थियो । तर, झापा ११ को अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको २३ औं मिनेटमा दिल्सन लिम्बूले भुटानका तर्फबाट बराबरी गोल गरेका थिए ।


त्यसैगरी खेलको ३७ औं मिनेटमा भुटानकै तर्फबाट कप्तान युगल किशोर राईले पुनः गोल गर्दै अग्रता २-१ बनाए । खेलको नियम उल्लंघन गरेपछि पहिलो हाफको ४१ औं मिनेटमा झापा-११ का खेलाडी दिलेन लोक्ताम र भुटानका क्याप्टेन युगल किशोरलाई एन्फा खेल रेफ्री श्याम दनुवारले रातो कार्ड दिइ मैदान बाहिर पठाएका थिए । त्यसपछि दोस्रो हाफको खेलमा दुवै टिम १०/१० खेलाडीमा सीमित भएका थिए ।
खेलको दोस्रो हाफको २० औं मिनेटमा झापा-११ का तर्फबाट योगेश गुरुङले गोल किपरको हातबाट फुत्किएपछि सुन्दर गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्‍याए । त्यसपछिको खेल अवधिभर थप कुनै गोल हुन नसक्दा खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । भुटानका विक्रम लिम्बुको प्रहार बारमा लागेर फर्किएपछि झापाको जित भएको थियो । विजयी झापा-११ का ५ जना खेलाडीकै प्रहार गोलमा परिणत भएको थियो । खेलको म्यान अफ द म्याच झापा-११ का जर्सी नम्बर १० का विशाल राई (ए) घोषित भए ।
झापा-११ ले आउँदो कात्तिक ४ गते हुने फाइनल खेलमा कञ्चनजंघा स्पोर्टिङ क्लब सिलिगुढीसँग स्थानीय कनकाई उच्च माविको खेल मैदानमा प्रतिष्पर्धा गर्ने आयोजक समितिका सदस्य ज्योति उप्रेतीले जनाएका छन् ।
असोज २८ गतेबाट शुरु भएको गोल्ड कपको विजयी तथा उपविजयी हुन टिमले क्रमशः १ लाख ११ हजार १ सय ११ र ५१ हजार १ सय ११ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । समापन खेलका दिन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल आउने तय भएको आयोजक समितिका सदस्य राजकुमार कट्टेलले बताए ।


Comments