आयोजकविरूद्ध सशस्त्रको फराकिलो जीत




राजेश कुइँकेल,
४ असोज, दमक।
झापाको केर्खामा जारी पूर्वाञ्चलस्तरीय दोस्रो केर्खा कप फुटबल प्रतियोगिताअन्तर्गत शनिवारको खेलमा सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुरले जीत हात पारेको छ । एकतर्फि जस्तो खेलमा आयोजक न्यू स्टार क्लब वि टिमलाई दुईका विरुद्ध ६ गोलले पराजित गर्दै सशस्त्रले दोश्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
खेल सुरु भएको नवौं मिनेटमा एपिएफले गोलको खाता खोलेको थियो । एपिएफका हरि कार्कीले गोल गर्दै एपिएफलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोलको ५ मिनेट वित्न नपाउँदै खेलको १४ औं मिनेटमा सशस्त्रका लागि उमेश राईले दोश्रो गोल गरे । त्यसैगरी पहिलो हाफको ३० औं मिनेटमा उमेश चौधरी र पहिलो हाफको अन्त्यमा पुनः हरि कार्कीले गोल गरेपछि पहिलो हाफमा सशस्त्रको टोलीले चार शुन्यको अग्रता कायम गर्न सफल भयो ।



पहिलो हाफमा निकै फितलो खेल प्रदर्शन गरेको आयोजक विले दोश्रो हाफमा भने आक्रामक शुरुवात गर्‍यो । दोश्रो हाफको सुरुवातमै आयोजक वि का उज्वल गुरुङले गोल गर्दै आफ्नो टोलीलाई खेलमा फर्काउने प्रयास गरे । दोश्रो हाफको १५ औं मिनेटमा उज्वलले दोश्रो गोल गरेपछि आयोजकले सशस्त्र सँगको गोल अन्तर कम गर्ने प्रयास गरेपनि सशस्त्रका हरि कार्कीले दोश्रो हाफको ३० औं मिनेटमा टिमका लागि पाँचौ तथा ब्यक्तिगत तेश्रो गोल गरे । कार्कीले खेलको अन्त्यमा ब्यक्तिगत चौथो गोल गरेपछि सशस्त्रको टोली ६-२ को फराकिलो जीत हात पार्न सफल भयो ।
खेलको म्यान अफ द म्याच समेत सशका हरि कार्की घोषित भए । प्रतियोगिताअन्तर्गत आइतबारको खेल फनगाइज क्लव चुलाचुली र इलाम र सैनिक फुटवल क्लव झापाबीच हुने आयोजक समितिका सदस्य बद्रि राईले जानकारी दिए ।

फोटो - केर्खा कप फूटबल प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आयोजक वि र ससस्त्र प्रहरी बलका खेलाडीहरु ।


Comments