विर्ता युथले साइनो विराटनगरलाई हरायो





७ असोज, दमक ।
झापाको केर्खामा जारी मुकारुङ दोश्रो केर्खा कप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबारको खेलमा विर्ता यूथ क्लब विर्तामोड विजयी भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो चरणको खेलमा साइनो क्लब विराटनगरलाई शुन्यका विरुद्ध २ गोलले पराजित गर्दै विर्ताले दोश्रो चरणमा स्थान सुरक्षित गरेको हो ।
निकै प्रतिस्पर्धात्मक भएको खेलमा विर्ताले गोल गर्न पहिलो हाफको इन्जुरी समयसम्म कुर्नु परेको थियो । पहिलो हाफको इन्जुरी समयमा देवेन्द्र तामाङले गोल गर्दै विर्तालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा राम्रो खेल प्रदर्शन गरेपनि गोलका दर्जनौं मौका खेर फालेको साइनोले दोश्रो हाफमा पनि सोही गल्तीलाई दोहोर्‍यायो । दोश्रो हाफको १५ औं मिनेटमा विर्ताका नानु लिम्बुले गोल गरेपछि विर्ताको जीत सुनिश्चित भएको थियो । खेलको म्यान अफ द म्याचसमेत विर्ताका नानु लिम्बु घोषित भए ।
प्रतियोगिताअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा बुधवार आयोजक न्यू स्टार क्लब ए र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुने आयोजक समितिका बुद्धि लिम्वुले जानकारी दिए ।








Comments