ठेकेदारलाई धम्क्याएको आरोपमा बहुल राष्ट्रिय पार्टीका अध्यक्ष पक्राउ

GUN FIRE २६ भदौ, पाँचथर । काबेली हाइड्रोपावरका ठेकेदार र कर्मचारीहरुलाई धम्क्याएको आरोपमा प्रहरीले बहुल राष्ट्रिय पार्टीका ताप्लेजुङ अध्यक्षसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सो पार्टीका जिल्ला अध्यक्ष ताप्लेजुङ तापेथोक ८ का २८ वर्षिय मनिष हेल्लोक, सोही गा.वि.स. ७ का २४ वर्षिय दर्शन लिम्बु, छुरुम्बु १ का टाइगर टेन भनेर चिनिने सावाहाङ लिम्बु रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक मेघराज थापाको कमाण्डमा रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सहयोगमा ताप्लेजुङ बजारको बीरेन्द्र चोकबाट बुधबार साँझ पक्राउ गरेको हो । उनीहरूबिरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा काबेली करिडोर १३२ के.भि. प्रसारण लाइनका ठेकेदार तथा कर्मचारीहरुलाई धम्क्याएको उजुरी परेको छ । ताप्लेजुङ १ मा समेत घर भएका मनिष हेल्लोकको घरबाट प्रहरीले १ थान मेड इन यु.एस.ए. लेखिएको पेस्तोल, सो पेस्तोलमा लाग्ने २ थान म्याग्जीन, एक राउण्ड गोली, १ थान ल्यापटप, ३ थान मोवाइल र पार्टीको पर्चासमेत बरामद गरेको छ । उनीहरुले ठेकेदारलाई बन्धक बनाएर तीन करोड रुपैयाँ फिरौती लिने योजना बनाएको थाहा पाएपछि उनीहरुको खोजतलाश शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Comments