सशस्त्र र चुलाचुली फाइनलमा भिड्दै





१२ असोज, दमक।
सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुर झापाको केर्खामा जारी मुकारुङ दोश्रो केर्खा कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोश्रो सेमिफाइनल खेलमा आयोजक न्यू स्टार क्लब केर्खालाई टाइब्रेकरमा एकका विरुद्ध ३ गोलले पराजीत गर्दै सशस्त्रले अन्तिम दुईको यात्रा तय गरेको हो ।

निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक भएको खेलमा अग्रता भने आयोजक न्यू स्टारले खेलको सातौं मिनेटमा यूगलकिशोर राईको गोलमार्फत लिएको थियो । तर पहिलो हाफको २० औं मिनेटमा निसान लिम्बुले गोल गरेपछि खेल एक एकको बरावरीमा पुगेको थियो । विजय धिमाल, रजिन धिमाल, यूगलकिसोर राई जस्ता स्टार खेलाडीहरुसहित मैदान उत्रिएको केर्खालाई सशस्त्रले दोश्रो हाफमा झनै दबाबमा पार्‍यो । दोश्रो हाफको १० औं मिनेटमा सुरज थापाले गोल गर्दै सशस्त्रलाई दुई एकको अग्रता दिलाउन सफल भए । तर दोश्रो हाफको १५ औं मिनेटमा आयोजकका यूगलकिशोर राईले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेपछि खेल दुई दुई गोलको बरावरीमा पुगेको थियो । त्यसपछि कुनै टोलीबाट गोल हुन सकेन र खेलको निर्णय टाइब्रेकरबाट लिनु परेको थियो । टाइब्रेकरमा आयोजकका रजिन धिमालले मात्र गोल गरेपछि राष्ट्रिय स्तरका खेलाडीले भरिपूर्ण केर्खा सेमिफाइनलबाटै बाहिरिन पुग्यो । खेलको म्यान अफ द म्याच सशस्त्रका निसान लिम्बु घोषित भए ।
प्रतियोगिताअन्तर्गत उपाधिका लागि मंगलबार चुलाचुली स्पोर्टिङ क्लब इलाम र सशस्त्र प्रहरी बल पाथिभरा गण लखनपुर प्रतिस्पर्धा गर्ने आयोजक समितिका फौद गहतराजले जानकारी दिए ।





Comments