२८ भदौ, बिर्तामोड।
नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडले आज शनिबार बिर्तामोडमा विश्व प्राथमिक उपचार दिवस मनाएका छन् ।
विभिन्न घटना दुर्घटनामा घाइते भएकाहरुको अकालमा ज्यान जानबाट रोक्नको लागि तत्काल घटनास्थलमै गरिने उपचार 'प्राथमिक उपचार' को महत्व दर्साउँदै दिवस मनाइएको हो ।
सन् २००३ बाट सेप्टेम्बर महिनाको दोश्रो शनिबार मनाउन थालिएको यो दिवसको यस वर्षको नारा 'विपद तथा दैनिक जोखिममा प्राथमिक उपचार' रहेको छ ।
बिर्तामोडमा मोरसाइकल दुर्घटना र छुरी प्रहारको अलग अलग घटना प्रदर्शन गरी घाइतेलाई प्राथमिक उपचार गरिएको थियो ।
घटनाका घाइतेहरुलाई रेडक्रसका तालिम प्राप्त प्राथमिक उपचारकहरु प्रकाश खरेल, डिल्लीराम भण्डारी, भाग्य बस्नेत, सुशीला रिजाल, रोजिना महत, राधिका गिरी, लगायतले प्राथमिक उपचार गरेका थिए ।
सो अवसरमा प्राथमिक उपचारको महत्वबारे बताउँदै रेडक्रसकर्मी विश्व थापा र बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटीले मन्तब्य राखेका थिए ।
उक्त अवसरमा रेडक्रसकर्मीहरु मञ्जु पोखरेल, हेम खड्का, निर्मल भट्टराई, श्याम पौडेल, सोमा शिवाकोटी, एकराज गिरी, ओमप्रकाश गौतम, भूमिका दाहाललगायतले सडकमा उपस्थित सर्वसाधारणलाई घाइतेको अवस्था अनुसार रक्तश्राव रोक्ने, हाड भाँचिएको अवस्था तथा अन्य अवस्थाको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा सयौं सर्वसाधारणको उपस्थिति थियो ।
(फोटो -फाइल)

Comments
Post a Comment