दशैंमा आधादर्जन गाविस अन्धकार




तेज बन विश्वासी,
१४ असोज, सुनसरी ।
नेपाल बिद्युत प्राधिकरणको लापरवाहीका कारण नेपालीहरुको महान पर्व बडादशैको मुखमा सुनसरीका आधादर्जन गाविस अन्धकारमय बनेका छन् ।
प्राधिकरणले समयमै ट्रान्सफर्मर नथपिदिएपछि सुनसरीको रामनगर भुटाहा, देवानगञ्ज, घुस्की, हरिनगरा लगायतका गाविसहरु बिगत ४ दिनदेखि अन्धकारमय बनेका हुन् ।

सुनसरीको भुटाहामा रहेको सयकेभीको ट्रान्सर्फमरले थाम्न नसकेपछि २ महिनाको अवधीमा ३ पटकसम्म ट्रान्सर्फमर पड्किएका छन् । ट्रान्सर्फमर पड्किएपछि हाल रामनगर भुटाहा साथ साथै अन्य गाविससमेत अन्धकार बनेको भुटाहाका समाजसेवी रामलाल मेहताले बताए । 'दशैंजस्तो महान पर्वमा सबैको घर उज्यालो हुन्छ तर हाम्रो गाउँ घर भने अन्धकार हुने भो', समाजसेवी मेहता गुनासो पोख्छन् ।





गाउँमा बिद्युत सेवा ठप्प बनेपछि दैनिक कामकाजमा समेत समस्या उत्पन्न हुने गरेको स्थानीयहरुले बताएका छन् । उनीहरूका अनुसार चार दिनदेखि बिद्युत सेवा अवरुद्ध बनेका कारण मोवाइल चार्ज गर्नसमेत समस्या भएको छ।
दशैंको बेला अलिअलि भएपनि खर्च टार्नको निमित्त सानोतिनो मिल खोलेको तर बिद्युत सेवा अवरुद्ध बनेपछि त्यो पनि चौपट बनेको भुटाहाका साना ब्यवसायी केदार तिम्सिनाले बताए ।
यता यस विषयमा नेपाल बिद्युत प्राधिकरण शाखा इनरुवासँग सम्पर्क गर्दा बितरण शाखाका इञ्जिनियर राजेश रेग्मीले ओभरलोडका कारण सो क्षेत्रमा बारम्बार ट्रान्सर्फमर पड्किने गरेको बताए । ट्रान्सर्फमर पड्किएपछि सुनसरीको आधा दर्जन गाविस अन्धकार बनेको स्वीकार्दै इञ्जिनियर रेग्मीले दशैं अगाडि नै ५० केभी ट्रान्सर्फमर थप्ने योजना भइरहेको बताए ।





Comments