आँखा पाक्ने रोग नियन्त्रण बाहिर, पूर्वमा २१ हजार बढि बिरामी





तेज बन विश्वासी,
६ असोज, सुनसरी।
मौसम परिवर्तनसँगै पूर्व क्षेत्रमा तिब्र गतिमा फैलिएको आँखा पाक्ने रोग नियन्त्रण वाहिर गएको छ ।
पश्चिमबाट आएको दुषित हावाका कारण फैलिएको भनिएको सो रोगबाट पूर्वाञ्चल क्षेत्रमा करिब २१ हजार जना संक्रमित बनिसकेको पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ ।
सबैभन्दा बढी संक्रमीत क्षेत्र मोरङमा रहेको पाइएको छ । मोरङको ग्रामीण भेगहरु केरावारी, लेटाङ, कानेपोखरी जस्ता स्थानहरुमा उक्त रोगको संक्रमण बढि देखिएको छ ।



मोरङमा ७ हजार ६ सयको हाराहारीमा आँखा पाक्ने रोगको संक्रमीतहरु फेला परेको जिल्ला स्थास्थ्य कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै सुनसरीमा पनि यो संक्रमण फैलने क्रम जारी रहेको छ । हालसम्म सुनसरीमा ४ हजार २ सयको हाराहारीमा आँखा पाक्ने रोगको संक्रमीतहरु रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
त्यस्तै पूर्वका जिल्लाहरुअन्तर्गत सिरहा, सप्तरी, झापा, इलाम, ताप्लेजुङ्ग र धनकुटामा समेत उक्त रोगको संक्रमण तिब्र रुपमा फैलन थालेको स्थानीय अस्पतालहरुबाट बुझिएको छ ।
नियन्त्रण बाहिर रहेको आँखा पाक्ने रोगबाट बच्न बिभिन्न उपाय अपनाउन चिकित्सकहरुले बिशेष सल्लाह दिँदै आएका छन् । मौसममा देखिएको परिवर्तनसँगै वर्षा र चिसो हावाका कारण व्याक्टेरीया र भाइरस फैलिएर आँखा पाक्ने समस्या बढेको चिकित्सकहरुले बताएका छन् ।
उक्त रोगको संक्रमणबाट बच्नका निमित्त आँखा सधैं साबुनपानीले सफा गर्न, शुद्ध खानेपानीको प्रयोग र कालो चस्माको प्रयोग गर्न सम्बन्धित चिकित्सकहरुले सुझाव दिँदै आएका छन्।




Comments