सांगीतिक आकाशमा उदाउँदै बबिना




हँसाउछौ तिम्रै मर्जी
रुवाउँछौ तिम्रै मर्जी
आगो झोसी यो छातीमा
रमाउछौ तिम्रै मर्जी

गायिका बबिना भट्टराई खतिवडाको स्वर भरिएको डेब्यु गीत हो यो । पहिलो एल्बम निकाल्ने तयारीमा रहेकी बबिना गीतको छोटो समयमा नै चर्चा चुलिँदा उत्साहित छिन् । मोरङ बिराटनगर निवासी बबिनाले एल्बमका लागि थप गीतहरु रेकर्ड हुँदैगरेको जानकारी दिइन् । 'रुवाउँछौ तिम्रै मर्जी' बोलको यस गीतको शव्द संगीत दिपक शर्माको हो ।
'चाँडै एल्बम ल्याउने जमर्को गरिरहेको छु', उत्साहित हुँदै बबिनाले भनिन् । बबिनाको अनुसार संगीत जिउने माध्यम हो। संगीत बिनाको जीवन अधुरो हुन्छ । संगीतलाई रहर होइन करियरका रुपमा लिएकी उनी भन्छिन्, 'एउटा गीत रेकर्ड गर्छु, जस्तो प्रतिक्रिया आउँछ, सौचौंला भनेको थिएँ, सोचेभन्दा राम्रो 'रेसपन्स' पाएँ ।'






सानैदेखि गीतसंगीतमा भनेपछि हुरुक्कै हुने बबिना आफुलाई नेपाली सांगितीक क्षेत्रमा स्थापित गराउन चाहान्छिन् । त्यसका लागि उनी फुर्सदको समय संगीत साधानामै खर्चिन्छिन् ।
सांगीतिक क्षेत्रमा आउन शिक्षक युवराज पौडेलको प्रेरणा रहेको उनी बताउँछिन् । सरस्वती उच्च मावि इटहरामा २०६३ सालमा अध्ययन गर्दाताका शिक्षक पौडेलले आफ्नो स्वरको प्रशंशा गरिदिएर कक्षामा गाउन लगाएको पल सांगीतक क्षेत्रमा अघि बढ्न 'प्लस प्वाइण्ट' भएको बबिनाको भनाई छ ।
सेन्टिमेन्टलदेखि डान्सिङ नम्बरका गीतहरु श्रोतामाझ पस्किने तयारीमा रहेकी बबिनालाई लता मंगेशकर र तारादेवीका गीत मन पर्छन् रे । सांगीतिक क्षेत्रमा नै जीवन समर्पित गर्ने प्रण गर्ने बबिना भन्छिन्, 'नेपाली गीतसंगीतमा नयाँपन दिन चाहन्छु ।'

प्रस्तुति - तेजन खड्का




Comments