साइनो गाँसेर लुट्न खोज्ने तीनजना पक्राउ



तेज बन विश्वासी,
४ असोज, सुनसरी ।
आफन्तको साइनो गाँसेर लुटपाट गर्ने एक गिरोह इटहरी क्षेत्रमा सक्रिय बन्दै गएको पाइएको छ ।
एकसाता अघि मात्रै इटहरीको व्यस्त बजारबाट एक महिलालाई दिदीको साइनो लगाएर घरमा कोही नभएको मौका छोपी लुटेराहरुको समुहले तालासमेत फोडेर ६ तोला सुनका गहनाहरु लुटेर फरार भएको घटना सेलाउन नपाउँदै शनिवार त्यस्तै झल्को दिने एक असफल घटना भएको छ ।
शनिवार दिउँसो ४ बजे सुन लुट्न खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेपछि साइनो लगाएर लुट्न खोज्ने गिरोह सकृय रहेको खुलासा भएको हो ।
इटहरीका स्थानीय एक दुध ब्यापारीलाई हजुरबुबाको साइनो लागएर औंठी र सिक्री लुट्न खोजेको आरोपमा प्रहरीले शनिवार ३ जनालाई नियण्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरुमा इटहरी ७ गैसारका निवासी अर्विन चौधरी र निवासी विवेक केशी तथा इटहरी ८ का नविन खडका रहेको प्रहरीले जनाएको छ ।
स्थानीय ठेकेदारलाई दुध पुर्‍याएर घर फर्कंदै गर्दा बाटामा भेटी उनीहरूले हजुरबुवा भनेर एकान्तमा पुर्‍याएर हातको औंलामा रहेका सुनको औंठी लुट्न खोजेपछि गुहार माग्ने क्रममा स्थानीयले लखेटेर पक्राउ गरेको अवस्थामा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक कुन्दन देवले बताए ।
पक्राउ परेका तीनै जनाको विषयमा छानविन भइरहेको प्रहरीले जनाएको छ ।

Comments