स्मरण शक्तिमा रेकर्ड राख्ने धुनमा शर्मा









६ असोज, दमक।
झापा, भद्रपुर-५का अर्पण शर्माले एक दिमागी प्रतियोगीताबाट विश्व रेकर्ड बनाउन प्रयासरत छन् । एक मिनेटमा ४२ वटा बस्तुहरुलाई स्मरण गरेर थाहा पाउने कलामा नयाँ विश्व रेकर्ड कायम गर्न शर्मा सक्रिय भई लागेका हुन् ।
दमकमा सोही अभ्यासलाई निरन्तरता दिन दमक उद्योग वाणिज्य संघले यहि असोज १० गते कार्यक्रमको आयोजना गरेको छ । शर्मालाई विश्व रेकर्ड राख्न अभिप्रेरित गर्ने उद्देश्यले संघले विभिन्न सरकारी तथा गैरसरकारी संघ, संस्थाहरुको उपस्थितिमा समन्वयकारीको भूमिका निर्वाह गर्ने भएको छ । सोही कार्य सफलतापूर्वक सम्पन्न गर्न आइतबार दमकको स्थानीय रेडक्रसको सभाहलमा शर्माले आफ्नो प्रतिभालाई प्रस्तुत गरेका थिए। उनले त्यस क्रममा मिलाएर राखिएका ४२ बटा बस्तुलाई १ मिनेट हेरेपछि छरपस्ट पारिदिँदा १५ मिनेटमा पुनः पहिलेको जसरी नै मिलाएर राखेका थिए ।








स्मरण शक्तिमा फरक क्षमता भएका शर्माले यसअघि विभिन्न रङहरुको पहिचान गर्ने कलामा आफूलाई विश्व रेकर्डमा उभ्याउन चाहेका थिए। गत पुस ६ गते उनले १ सय ६४ वटा रङहरुको पहिचान दिएर रेकर्डका लागि सम्बन्धीत निकायमा पठाएका थिए । तर उनको सो कार्यले रेकर्ड कायम गर्न सकेको थिएन् ।
अघिल्लो असफलतालाई स्मरण गर्दै शर्माले भने, 'अव सवै प्रकृया मिलाएर नयाँ विश्व रेकर्डको लागि तयारीमा छु ।' कुनै बस्तु तथा चिजविजलाई नहेरी पत्ता लगाउन कलामा उनले नयाँ किर्तिमान राख्न चाहेको बताए ।सो कलामा भारतका जयसिंहा रविरालाको ४० वटा बस्तु चिन्ने क्षमतालाई भंग गर्ने तयारीमा उनी लागिपरेका छन् ।
स्नातक तहको अध्ययन पूरा गरेका शर्माले गर्ने यस्तो दिमागी फरक क्षमता यस्ता क्रियाकलाप नेपालका लागि विरलै मानिन्छन् । काठमाण्डौकी प्रतिष्ठा अमात्य विष्टले दशकअघि प्रदर्शन गरेको दिमागी एक कलाका बाहेक अहिलेसम्म कसैले यस्तो प्रतिभा देखाउन सकेका छैनन् ।
बर्ष दिनअघिबाट यस्तो अनौठो दिमागी कलामा आकर्षित शर्मा यहि क्षेत्रमा विश्व रेकर्ड राख्ने दृढता राख्छन् ।






Comments